बिर्तामोड, पुष २९ । गोपीकृष्ण खनाल स्मृति पुरस्कार साहित्यकार कोमलप्रसाद पोखरेललाई प्रदान गरिएको छ।

गोपीकृष्ण स्मृति प्रतिष्ठानद्वारा पत्रकार तथा साहित्यकार खनालको स्मृतिमा स्थापित गोपीकृष्ण खनाल स्मृति पुरस्कार अग्रज साहित्यकार पोखरेललाई प्रदान गरिएको हो।

साहित्य चौतारीको सभाहलमा आइतबार गोपीकृष्ण खनालको ७७ औं जन्मोत्सवको अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि शिक्षासेवी गणेशप्रसाद खनाल , प्रतिष्ठानका संरक्षक रुपादेवी खनाल, साहित्य चौतारीका संरक्षक देवीभक्त श्रेष्ठलगायतले पोखरेललाई सम्मानसहित उक्त पुरस्कार प्रदान गरेका थिए।

प्रत्येक दुई–दुई वर्षमा प्रदान गरिने सो पुरस्कार ५० हजार रुपैयाँ राशिको रहेको छ। यसभन्दा अघि सो पुरस्कार पत्रकार नकुल काजीलाई प्रदान गरिएको थियो। यसवर्ष साहित्यतर्फ प्रदान गरिएको छनोट समितिका सदस्य पुण्यप्रसाद सिग्देलले जानकारी दिए। उनले सुरुमा उक्त पुरस्कारको नामकरण गोपीकृष्ण खनाल पत्रकारिता राखिएको भएपनि दुबैतर्फ प्रदान गर्नेगरी हाल संशोधन गरि गोपीकृष्ण खनाल स्मृति पुरस्कार राखिएको बताए।

प्रतिष्ठानका उपाध्यक्ष सरु खनालको अध्यक्षता तथा शिक्षासेवी खनालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सचिव तीर्थ सिग्देलले स्वागत मन्तव्य राखेका थिए।कार्यक्रममा पुरस्कृत व्यक्तित्वको परिचयसहित सञ्चारकर्मी केशव भट्टराईले सम्मानपत्र वाचन गरेका थिए।

साहित्य,संगीत,कला क्षेत्रका विभिन्न व्यक्तिको उपस्थिति रहेको कार्यक्रममा प्रमुख अतिथि खनाल, साहित्य चौतारीका संस्थापक संरक्षक देवीभक्त श्रेष्ठ, त्रिफला राष्ट्रिय पुस्तकालयका अध्यक्ष प्रेमप्रकाश फलाहारी,सम्मानित व्यक्तित्व पोखरेललगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन पुण्यप्रसाद सिग्देलले गरेका थिए।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्