झापा,माघ ४ । मोरङका अलगअलग स्थानमा आगलागी हुँदा ९ लाख बराबरको क्षति भएको छ।

विराटनगर र बेलबारीमा बिहीबार बिहान आगलागी भएको हो। मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार विराटनगर महानगरपालिका–९ स्थित चुलाचुली मार्ग बस्ने सुरेशकुमार साहको जेनेरेटर राखिएको घरमा आगलागी भएको छ।

जेनेरेटर राख्नका लागि इँटा र कर्कटपाताको प्रयोग गरेर बनाइएको घरमा बिहान ५ बजेतिर आगलागी भएको उनले बताए। आगलागीमा घरसहित जेनेरेटर जलेर ध्वस्त भएको प्रहरीले जनाएको छ। विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ। प्रहरीका अनुसार आगलागीमा ८ लाख बराबरको क्षति भएको छ। आगो नेपाल प्रहरी, स्थानीय र दमकलको सहायतामा लगभग १ घण्टापछि नियन्त्रणमा लिइएको थियो।
बेलबारी नगरपालिका–१ भानुमार्ग बस्ने सावित्रीदेवी श्रेष्ठको भान्सा घरमा आगलागी हुँदा १ लाख बराबरको क्षति भएको छ। प्रहरीका अनुसार कर्कटपातको छानो र बेरा लगाएर बनाइएको घरमा बिहानका राति १ बजेतिर आगलागी भएको हो।

चुल्होबाट अचानक आगो सल्किँदा भान्सा घर, कोठामा रहेका अन्नपात, काठपात, भान्साका सामग्री जलेर ध्वस्त भएको प्रहरीको भनाइ छ। आगो प्रहरी, स्थानीय र दमकलको सहयोगमा डेढ घण्टापछि नियन्त्रणमा लिइएको थियो।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्