बिर्तामोड, माघ ५। बिर्तामोड नगरपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ ।

वडा नम्बर १ को सभाहलमा शुक्रवार वडा नम्बर १,२ र ५ को आर्थिक वर्ष २०८०÷८१ को प्रथम चौमासिक अन्तर्गतको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा नगर प्रमुख पवित्रा महतारा प्रसाई, उप–प्रमुख नगेन्द्रप्रसाद संग्रौला, वडा नम्बर १ का वडाध्यक्ष अग्निप्रसाद पाण्डे, वडा नम्बर ५ का वडाध्यक्ष रोहित प्रसाई र नगरका शिक्षा शाखा प्रमुख तिलचन भण्डारीले सहभागीहरुका प्रश्नको जवाफ दिएका थिए । सहभागीहरुले विमाको औषधि अभाव, बजारमा बिनादर्ताको व्यवसाय संचालन, ईन्टरनेटका अव्यवस्थित तार, सडक निर्माण, मर्मत सम्भार, फोहोर व्यवस्थापन, पार्किङको समस्या, लागूऔषध दुव्र्यसनी, निजी तथा सरकारी विद्यालय लगायत विभिन्न टोल विकास संस्थाका विषयमा प्रश्न गरेका थिए ।

कार्यक्रममा बोल्दै नगर प्रमुख प्रसाईले फोहोर व्यवस्थापनका लागि सबैले स्रोतबाटै कुहिने र नकुहिने फोहोर छुट्याउन आग्रह गरिन् ।उनले स्रोतमै वर्गीकरण गर्न सुरु नगरेसम्म फोहोरको समस्या समाधान नहुने धारणा राखिन् । नगरपालिकालाई राम्रो र सुन्दर बनाउन जनप्रतिनिधि मात्रै नभएर सबैजना लाग्ने हो भने नमुना नगरपालिकाको रुपमा विकास गर्न सकिने बताइन् ।
नगर प्रमुख प्रसाईले २०७४ सालको निर्वाचनपछि नगरको शिक्षा क्षेत्रमा धेरै परिवर्तन आएको बताइन् । निजी विद्यालयको तुलनामा पछि परेको सरकारी विद्यालयमा अहिले गर्वका साथ पढ्न जान, पठाउन सकिने अवस्था सृजना भएको धारणा राखिन् । उनले आफूले समिति गठन गरेर नगरका १८ वटा सामुदायिक, ५८ वटा संस्थागत र २ वटा धार्मिक विद्यालयको अनुगमन गरी आवश्यकताको पहिचान र समाधान गर्दै यो स्थानसम्म आइपुगेको बताइन् । नगर प्रमुख प्रसाईले बिर्तामोडमा सौहार्दरुपमा विकासका कामहरु भईरहेको जानकारी दिइन् । नगरको बजेट अनुसार सही सदुपयोग गरेर कामहरु भइरहेको उनको भनाइ थियो ।

यस्तै नगर उप–प्रमुख संग्रौलाले सरकारले गाउँपालिका र नगरपालिकामा जनसंख्याको हिसाबमा औषधि वितरण नगरी एउटै दरमा औषधि पठाउने गरेका कारण बिर्तामोडमा निःशुल्क औषधिको अभाव हुने गरेको बताए । उनले अभाव भएको औषधि नगरपालिकाले खरिद गर्न पाउने अधिकार समेत नभएकोले कानूनी समस्या रहेको जानकारी दिए ।

उपप्रमुख संग्रौलाले बिर्तामोडमा १ लाख ६५ हजारभन्दा बढीको बसोबास रहेको बताए ।संग्रौलाले सार्वजनिक स्थानमा कुकुरलाई दिशा पिसाव गराउनेलाई ५ हजारभन्दा बढी जरिवानासहित कार्वाही हुने र यसका लागि टोल विकास समितिले ध्यान दिनु पर्ने बताए । यस्तै नगरमा दर्ता, नविकरण नगरिकन संचालन गरेका व्यवसायीलाई कानूनी कार्वाही गरिने भन्दै सबैलाई करको दायरामा आउन आग्रह गरे । बजारमा अखाद्य वस्तु बिक्री वितरण भइरहेको सूचनाका आधारमा अनुगमन तथा कार्वाही समेत भइरहेको उपप्रमुख संग्रौलाले जानकारी दिए ।

वडाको सडक, विद्युत पोल, अव्यवस्थित ईन्टरनेटका तारलगायतका विषयमा उठेका प्रश्नमा वडाध्यक्ष अग्निप्रसाद पाण्डे र रोहित प्रसाईले जवाफ दिएका थिए । यस्तै क्षिक्षाको क्षेत्रमा उठेको प्रश्नहरुको जवाफ निमित्त प्रमुख प्रशासकीय अधिकृत तथा शिक्षा शाखा प्रमुख तिलचन भण्डारीले दिएका थिए ।

सार्वजनिक सुनुवाई कार्यक्रमको सहजीकरण झापा युनेस्को संघ नेपालका विजय तिम्सिनाले गरेका थिए । ५० जनाभन्दा बढीको सहभागिता रहेको यस कार्यक्रममा कार्यपालिका सदस्य तथा वडा सदस्यहरुको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्