बिर्तामोड, माघ ८। करोडौको लगानी खेर फालेर अलपत्र अबस्थामा छाडेको बिर्तामोड–७ स्थित सहिद नेत्रपार्कलाई व्युँताउन स्थानीय जुटेका छन् ।

राज्यको करोडौ ढुकुटी खर्चिएर बनाएका संरचना भत्किएर झाडीले ढाकिएपछि त्यसलाई जोगाउन स्थानीयले सोमवारदेखि श्रमदान थालेका हुन् । भुटानी शरणार्थीहरु तेस्रो राष्ट्र पुनर्स्थापित भएपछि गोलधाप शरणार्थी शिविर खाली भएको थियो । त्यसपछि सुन्दर निचाझोडा सामुदायिक वनको सो खाली जग्गामा सहिद नेत्रपार्क निर्माण गरिएको थियो । विभिन्न संरचना निर्माणपछि सञ्चालन नै नभई नेत्रपार्क बेवारिसे अवस्थामा पुगेको हो । नेत्रपार्कमा बोटिङका लागि पोखरी निर्माण गरिएको थियो । त्यस्तै स्वीमिङसहित चिल्ड्रेन पार्क निर्माण गरिएको थियो । पार्कभित्र डाइनोसर प्रतिमा समेत राखिएको थियो । पोखरी पातपतिङ्गरले पुरिन लागेको छ भने स्वीमिङ पुल प्रयोगविहीन बनेको छ । स्वीमिङ पुल र बालबालिका खेल्ने संरचनाहरु बिग्रिसकेका छन् भने डाइनोसर प्रयोग गर्नै नमिल्ने गरी भत्किसकेको छ ।

यसरी राज्यको सम्पत्तिमाथि राजनीतिक दलका नेताहरुले खेलवाड गरेपछि सहिद नेत्र पार्क प्रवर्द्धनका लागि सोमवारदेखि बृहत श्रमदान अभियान थालिएको हो । पहिलो दिन सयभन्दा बढीको संख्यामा स्थानीयहरुले ढाकिएको झाडी पन्छाएका छन् । पहिलो चरणमा लगातार सात दिनसम्म यसरी नै श्रमदान गरिने बिर्तामोड ७ का वडाध्यक्ष अविरल कृष्ण खरेलले बताए । उनले पहिलो चरणमा स्थानीयहरुले श्रमदान गरिसकेपछि त्यसपछि विद्यार्थी , बैक कर्मचारीलगायतलाई आव्हान गरिने जानकारी दिए । सुन्दर निचाझोडा सामुदायिक वन उपभोक्ता समिति र बिर्तामोड ७ नं वडा कार्यालयको आयोजनामा सहिद नेत्र पार्कलाई व्युँताउने प्रयास गरिएको हो । त्यसमा बिर्तामोड नगरपालिकाले सहयोग गरिरहेको जनाइएको छ ।

करिव २७ विगाहमा फैलिएको सो पार्कमा ३ करोडको हाराहारीमा बजेट खेर फालेको देखिन्छ । तत्कालीन एमाले नेता नरेश खरेलको अध्यक्षतामा पार्क निर्माण समिति गठन गरी करोडौ बजेट ल्याइएको थियो । निर्माण समितिको उपाध्यक्षमा माओवादीका नेता सीपी कडरिया र सचिवमा खरेलका भतिज टिका खरेल रहेका थिए । पार्क निर्माण समितिका सचिव खरेलले पार्कमा पिकनिक स्थल, चिल्ड्रेन पार्क, स्वीमिङ, चेन्जिङ रुम र शितल घरहरु निर्माण गरिएको जानकारी दिए । अहिले धेरै संरचनाहरुको सामान चोरी भइसकेको छ । सचिव खरेलले निर्वाचन क्षेत्र विकास कोषबाट दिएको पहिलो पाँच लाखबाट काम सुरु गरिएको बताए । त्यसपछि संस्कृति पर्यटन मन्त्रालय, प्रदेश सरकार, झापाका सांसदहरुले पार्क निर्माणमा बजेट उपलब्ध गराएका थिए । झापा २ को सांसद रहँदा सुधिरकुमार शिवाकोटीको संयोजकत्वमा तत्कालीन सांसद मोहन टुडु, नरेश खरेल, सीपी मैनाली, मनकुमार गौतमलगायतले पार्कमा एकमुष्ट ८ लाख लगानी गरेका थिए ।संस्कृति पर्यटन मन्त्रालय, प्रदेश सरकारबाट ५०÷५० लाख, नगरपालिकाबाट २५ लाख, सांसदहरु, पर्यटन कार्यालयहरुबाट २ करोड बढी लगानी गरिसकेको सचिव खरेलको भनाई छ । उनले राजनीतिक द्वन्द्वका कारण नेत्रलाल पार्क अघि नबढेको जिकिर गरे । उनका अनुसार ७५ प्रतिशत काम सकिएको छ ।

बिर्तामोड ८को गरामनीबाट अढाई किलोमिटर पूर्वमा सुन्दर निचाझोडा सामुदायिक वनभित्र नेत्रपार्क निर्माण गरिएको छ । सोमवार एक कार्यक्रम गरी बृहत श्रमदान अभियान थालनी गरिएको हो । वडाध्यक्ष अविरल कृष्ण खरेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सांसद एकराज कार्की , बिर्तामोड नगरपालिकाका नगर प्रमुख पवित्रा महतारा प्रसाई , उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला , पूर्व नगर प्रमुख धु्वकुमार शिवाकोटी , वडाध्यक्षहरु किशोर पौडेल ,मदन बुढाथोकी , सूर्यप्रसाद कन्दङवालगायतले उपस्थिति जनाउँदै सहिद नेत्रपार्कको प्रवर्द्धनमा ऐक्यवद्धता जनाएका थिए । कार्यक्रमको संचालन सुन्दर निचाझोडा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष बद्री प्याकुरेलले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्