झापा,माघ १० । मोरङको कटहरीमा आगोले जलेर घाइते भएकी वृद्धाको उपचारका क्रममा मृत्यु भएको छ । कटहरी गाउँपालिका–२ आदर्श टोलकी ६० वर्षीया फूलमाया रायको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए ।

उनका अनुसार घरअगाडि आँगनमा बालेर ताप्ने क्रममा शरीरमा आगो सल्किएर गत पुष १५ गते राय घाइते भएकी थिइन् । कपडाबाट शरीरमा आगो सल्किएर गम्भीर घाइते भएकी उनलाई उपचारका लागि विरानगरको कोशी अस्पताल भर्ना गरिएको थियो । उपचारकै क्रममा बुधबार रायको मृत्यु भएको डीएसपी दाहालले बताए ।

त्यस्तै, मोरङको रंगेली नगरपालिका–७ की ६० वर्षीया तिलियादेवी मण्डल बुधबार बिहान आगोले जलेर घाइते भएकी छन् । घरअगाडि आँगनमा घुर बालेर ताप्ने क्रममा साडीबाट शरीरमा आगो सल्किएर उनी घाइते भएकी थिइन् ।

डीएसपी दाहालका अनुसार आगोले मण्डलको कम्मर मुनिको भाग जलेको छ । उनलाई उपचारका लागि कोशी अस्पतालमा भर्ना गरिएको छ । घटनाका बारेमा अनुसन्धान सुरु गरिएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्