झापा, माघ ११ । राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेश महिला क्लस्टरबाट एमालेकी रूक्मिणी कोइराला निर्वाचित भएकी छन् ।

उनले सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी चम्पादेवी कार्कीलाई पराजित गरेकी हुन् । सत्ता गठबन्धनमा मत क्रस हुँदा एमाले उम्मेदवारले जितेकी हुन् । एमालेका प्रदेश सभा सदस्य रेवतीरमण भण्डारीका अनुसार कोइराला निर्वाचित भएकी छन् । उनी निर्वाचित भएको औपचारिक घोषणा हुन बाँकी छ । एमालेकी कोइरालाले ५ हजार ८६ मत प्राप्त गरेको र माओवादीकी कार्कीले ४ हजार ९ सय २२ मत प्राप्त गरेकी छन् ।

कोशीमा एमाले र राप्रपाबीच तालमेल भएको थियो ।कोशीमा अन्य समूहबाट राप्रपा र महिलाबाट एमालेलाई सघाउने सहमति भएको थियो । कांग्रेसबाट अन्य समूहमा कृष्णप्रसाद सिटौला उम्मेदवार छन् ।

कोशीमा कुल मतभार १० हजार १३५ थियो । कांग्रेस, माओवादी, एस र जसपासहितको सत्ता गठबन्धनको मत ५ हजार ४७४ थियो भने एमाले र राप्रपाको मत ४ हजार ६०४ छ । स्वतन्त्रको मत ५७ थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्