झापा,माघ १४ । मोरङमा हात्तीपाइले रोग निवारण भएको छ ।

रोग निवारण गर्ने उद्देश्य राखेर औषधी सेवन अभियान सुरु गरेको १२ वर्षपछि जिल्लाबाट हात्तीपाइले रोग निवारण भएको हो ।

पाँच वर्षसम्म नियमित औषधी सेवन गराएर रोग निवारण गर्ने लक्ष्य लिएको सरकारलाई मोरङमा हात्तीपाइले निवारण गर्न १२ वर्ष लागेको हो । रोग निवारणका लागि नियमित औषधी सेवन अभियान सञ्चालन गरेका कारण रोग निवारणको उपलब्धि हासिल गरेको हो । जिल्ला स्वास्थ्य कार्यालयले एक महिनाअघि जोखिमपूर्ण क्षेत्रहरुबाट रगतको नमुना सङ्कलन गरी परीक्षण गर्दा हात्तीपाइलेको जीवाणु एक प्रतिशतभन्दा कममा पाइएको थियो । हात्तीपाइलेको जीवाणु एक प्रतिशतभन्दा कम हुनुलाई रोग निवारण भएको मानिने भएकाले यस वर्षदेखि जिल्लामा हात्तीपाइलेविरुद्धको औषधी नखुवाइने जिल्ला स्वास्थ्य कार्यालय मोरङले जनाएको छ ।

मोरङका रोग प्रभावित विभिन्न छ स्थानबाट स्याम्पल टेस्ट (नमुना परीक्षण) गर्दा रोगको जीवाणु फेला नपरेपछि निवारण भएको निष्कर्ष निकालिएको हो । ती ठाउँहरुबाट एक हजार आठ सयभन्दा बढी स्याम्पल सङ्कलन गरी प्रयोगशालामा परीक्षण गर्दा हात्तीपाइले रोगको जीवाणु एक प्रतिशतभन्दा कम मात्र पाइएको थियो ।

एक प्रतिशतभन्दा कम सङ्ख्यामा जीवाणु पाइनु जनस्वास्थ्य को दृष्टिकोणले समस्याको रुपमा नलिइने गरेको स्वास्थ्य कार्यलय प्रमुख सुरेश मेहताले जानकारी दिनुभयो । पछिल्लो दुई वर्ष राम्रो सहकार्य गरी औषधी सेवन गराउन सकेकै कारण निवारण सम्भव भएको मेहताले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्