झापा,माघ १५ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले २२ निर्माण व्यवसायी कम्पनीलाई कालोसूचीमा राखेको छ । कार्यालयले आज एक सूचना जारी गरी ठेक्का लिएर समयमै निर्माण सम्पन्न नगर्ने इलामको गजुरमुखी निर्माण सेवा सहित २२ कम्पनीलाई कालोसूचीमा राखेको जनाएको छ ।

गजुरमुखीलाई सडक डिभिजन नेपालगञ्जले २ बर्षका लागि कालोसुचीमा राखेको हो । डिभिजनले गजुरमुखीले नेपालगञ्ज–गुलरिया सडक निर्माणको काम अलपत्र पारेपछि गत साउनमा ठेक्का सम्झौता रद्द गरेको थियो ।

कम्पनीले उक्त सडक चार लेनमा विस्तार गर्न २०७४ चैतमा ठेक्का पाएको थियो। तर कम्पनीले पटक–पटक म्याद थप गर्दा पनि काम सम्पन्न गर्न नसकेपछि ठेक्का तोडिएको डिभिजनले जनाएको छ।

कम्पनीले २१ करोड ४९ लाख रुपैयाँमा उक्त निर्माणको ठेक्का हात पारेको थियो । कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउँदैनन् ।

कालोसूचीमा परेका आपूर्तिकर्ताहरुमा श्री लोहनी एण्ड ब्रदर्स प्रालि चितवन, श्री जेजे विल्डर्स बाँके, श्री सर्मिला निर्माण सेवा, कालीकोट, श्री ओम गौरीशंकर इन्फास्ट्रक्चर प्राली लगायत छन् । ती कम्पनीहरूलाई न्यूनतम ६ महिनादेखि ३ वर्षसम्म कालोसूचीमा राखिने उल्लेख गरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्