झापा, माघ १५ । कानमा लगाएको सुनको झुम्का लुट्न संखुवासभा खाँदबारीको तुम्लिङटारमा महिलाको हत्या गर्नेलाई प्रहरीले सार्वजनिक गरेको छ ।

सोमबार जिल्ला प्रहरी कार्यालय संखुवासभाले माघ ६ गते शनिबार ६२ वर्षीया दिलकुमारी घिमिरेको हत्यामा संलग्न भएको आरोपमा सुनसरी धरान जिरोप्वाइन्टका ३० वर्षीय दिपेन भन्ने आकाश राईलाई सार्वजनिक गरेको हो ।
मृतक दिलकुमारीको अस्वाभाविक मृत्यु भएको अनुमान प्रहरीले गरेपछि अनुसन्धान थालेको थियो । शंकास्पद मृत्यु भएपछि प्रहरीले कोशी प्रदेशबाट तालिमप्राप्त कुकुरको सहयोगमा अनुसन्धान थालेको डीएसपी घनश्याम श्रेष्ठले बताए । ‘मृतकको टाउकोको पछिल्लो भागमा गम्भीर चोट देखिएपछि अनुसन्धान थालेका थियौँ,’ उनले भने, ‘शंकाको घेरामा रहेका राईलाई धरानमा गएर लुकेको अवस्थामा समात्यौँ ।’

दिलकुमारीको हत्या गरेर राई सोही दिन नै तुम्लिङटारदेखि भागेको अनुसन्धानबाट खुलेको उनले बताए । उनका अनुसार अरुण तेस्रोमा ज्यालामजदुरी काम गर्ने राई श्रीमतीसहित तुम्लिङटारमा कोठा भाडामा लिएर बस्दै आएका थिए । राईले महिलाको हत्या गरी उनको साथमा रहेको आधा तोलाको सुनको झुम्का लुटेर भागेका थिए । झुम्का पनि उनले धनकुटाको पाख्रीबास–४ बुद्धचोकमा रूपकला ज्वेलर्सका सञ्चालक धनमाया विश्वकर्मालाई ४७ हजारमा बेचेका थिए ।

धनमायाले सोही गहना विवेक ज्वेलरीका देवबहादुर विश्वकर्मालाई ५८ हजारमा बिक्री गरेको खुलेको छ । उनीहरू दुवै जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको डीएसपी श्रेष्ठले बताए । राईविरुद्ध कर्तव्य ज्यान र चोकी डाँकासम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्