बिर्तामोड,माघ १५ । झापाको बिर्तामोड–५ मा सञ्चालित न्यूटन्स एजुकेशन एकेडेमीले २१ औं बार्षिकोत्सवका अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

रक्तदानमा ३१ महिला र ८३ पुरुष गरी ११४ जनाले रगत दान गरेका छन् । विद्यालयले सामाजिक उत्तरदायित्वअन्तर्गत सोमवार बिर्तामोडको हनुमान कम्प्लेक्स अगाडि रक्तदानसहित विविध कार्यक्रम आयोजना गरेको थियो ।

विद्यालय ब्यवस्थापन समितिकी अध्यक्ष धर्मा पराजुली प्रसाईको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतारा प्रसाईले गरेकी थिइन् । स्वागत मन्तव्यसहित कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै विद्यालयका प्रिन्सिपल देवेन्द्र हुमागाईले हाल कक्षा नर्सरीदेखि १२ सम्म एक हजार ६ सय विद्यार्थी अध्ययनरत रहेको जानकारी दिए । त्यस्तै एक सय ६० जना शिक्षक, कर्मचारी कार्यरत रहेका छन् । विद्यालयको भौतिक संरचनामा ६ वटा भवन रहेको बताउँदै उनले विद्यालयमा बालक्लव, टुरिजम क्लब, स्काउट गरी तीन वटा क्लबमार्फत विद्यार्थीहरुलाई सामाजिक कार्यमा संलग्न गराइरहेको जानकारी दिए ।

सोही कार्यक्रमका बिच नगरस्तरीय निबन्ध लेखन प्रतियोगिताका बिजेताहरुलाई पुरस्कार वितरण गरिएको थियो । प्रथम हुने बाल्मीकि एजुकेशन फाउन्डेसनकी कक्षा १० की मनिका भण्डारी, द्वितीय हुने मोहनमाया माविका कक्षा १० का प्रज्ञान खनाल, तृतीय हुने तक्षशीला प्रोग्रेसीभ इङ्लिस स्कुलकी कक्षा ८ की सृष्टि कट्टेल र सान्त्वना हुने न्यूटन्स एजुकेशनकी कक्षा ९ की श्रेयसी कार्कीलाई क्रमशः ७ हजार ५ सय, ६ हजार ५ सय, ५ हजार ५ सय र २ हजार ५ सय नगदसहित प्रशंसापत्रले पुरस्कृत गरिएको थियो ।

त्यसैगरी बिर्तामोड–७ मा रहेको शहीद नेत्रपार्क रंगरोकनका लागि ५० हजार रुपैयाँ बराबरको रंग सुन्दर निचाझोडा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष बद्री प्याकुरेललाई प्रदान गरिएको छ ।

कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख प्रसाई, प्याब्सन झापा अध्यक्ष गौरीमान फागो, बिर्तामोडका नगर शिक्षा अधिकारी तिलचन भण्डारीलगायतले शुभकामना मन्तव्य राखेका थिए । औपचारिक कार्यक्रमको सञ्चालन सञ्चारकर्मी सरोज पौडेलले गरेका थिए । दोस्रो सत्रमा सांस्कृतिक कार्यक्रम गरिएको थियो ।कार्यक्रम संयोजक पवित्रा पौडेलले संचालन गरेको कार्यक्रममा कक्षा १ देखि १२ सम्मका विद्यार्थीहरुले गीत नृत्य प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्