रेवतिराज घिमिरे,
भद्रपुर, माघ १६ ।प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले देशमा सुधार गृहको विस्तार गर्नुभन्दा बन्दी भएर कारागार आउनु पर्ने परिस्थितिको अन्त्य गर्नुपर्ने बताएका छन् ।

शहीद दिवसको सन्दर्भमा बन्दी विकास पुस्तकालय जिल्ला कारागार झापाले आयोजना गरेको बृहत् सांस्कृतिक कार्यक्रमसहित पुस्तकालयको २७ औ बार्षिकोत्सव तथा २६ औ साधारणसभालाई उद्घाटन गर्दै सभामुख घिमिरेले बन्दीहरुले विगतको गल्तीको प्रायश्चित गर्नुपर्नेमा जोड दिए । बन्दीहरुका समस्याहरुप्रति आफ्नो ध्यानाकर्षण भएकाले समस्याको समाधान गर्न आफू प्रतिबद्ध भएर लाग्ने उनको भनाई थियो ।

कार्यक्रममा बोल्दै कारागार प्रमुख मोहनलाल पनेरुले ७ सय जनाको क्षमता रहेको झापा कारागारमा हाल महिला र पुरुष गरी १ हजार ६सयभन्दा बढी कैदी बन्दी रहेको बताए । उनले कारागारबाट निस्कने फोहोर व्यबस्थापनमा चुनौति रहेको जानकारी दिए ।

पुस्तकालयका सचिव रमेश पोखरेलले संस्थाको बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सरकारले बन्दीहरुलाई प्रदान गर्दै आएको दैनिक ७ सय ग्राम चामल र ८० रुपैयाँ अपुग भएको बताउँदै सुविधा बढाउन माग गरे ।
उनले आचरणको आधारमा कैद छुटको व्यवस्था गर्नुपर्ने भन्दै हचुवाको भरमा कारागार पठाईने प्रवृतिको अन्त्य हुनु पर्ने बताए ।उनले पुस्तकालयले १५ लाख २८ हजार ३ सय ९२ रुपैयाँको कारोवार गरेको बताउँदै पुस्तकालयले हालसम्म गरेका गतिविधिका बारेमा अवगत गराएका थिए ।

कार्यक्रममा संघीय सांसद एल.पी साँवा,प्रदेश सांसद गोपाल तामाङ ,दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराईलगायतले बाल्दै कारागारलाई सहयोग गर्ने प्रतिबद्धता जनाए ।

पुस्तकालयका अध्यक्ष मनोज लावतीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य अभिरमण्डु माझी तथा संचालन सचिव पोखरेल र मेरिना तुम्साले संयुक्त रुपमा गरेका थिए । कार्यक्रममा राष्ट्रिय कलाकारहरु राजाराम पोखरेल,सविन राई,अस्मिता अधिकारीलगायतले आ–आफ्नो प्रस्तुति दिएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्