झापा,माघ १७ । इलामको जौबारीमा पहिलो पटक मेसिनबाट आलु रोपाई सुरु गरिएको छ ।

कृषि अनुसन्धान केन्द्र जौबारीले दुई वटा मेसिन खरिद गरी आलु रोप्न सुरु गरेको हो ।

उक्त मेसिनले नै आलु खन्ने काम समेत गर्नसक्छ । परम्परागत रुपमा मानिसले आलु रोप्ने र खन्ने काम गरिँदै आएकोमा केन्द्रले मेसिन खरीद गरेर मेसिनले आलु रोप्ने काम थालेपछि आलु रोप्ने काम छिटो हुने केन्द्रका वरिष्ठ वैज्ञानिक केन्द्र प्रमुख जर्नाजन गौतमले जानकारी दिए । केन्द्रले पाँच लाख रुपियाँको दरले दुई वटा आलु रोप्ने मेसिन(टयाक्टर) खरिद गरेको छ ।

प्रमुख गौतमका अनुसार मेसिनले प्रति घण्टा दुई रोपनी जमिनमा आलु रोपीसक्ने छ । प्रमुख गौतमले भने, ‘हामीले पहिलोपटक दुईवटा मेसिनबाट डेमो गरेका हौं, अब ज्यामी बढी लाग्ने झन्झटबाट मुक्त भएका छौं ।’ मलखाँद लगायत अन्य काम भने ज्यामी(मानिस) ले गर्ने गरिएको छ । उनका अनुसार उक्त मेसिनले आलु खन्ने काम समेत गर्नेछ ।

केन्द्रले मेसिनले आलु रोप्न थालेपछि छिटो रोपाई हुने, ज्यामीमा लाग्ने खर्च बचत हुने जनाएको छ । केन्द्रले जौबारीमा ३५ क्वीन्टल आलु रोपिसकेको छ भने थप पाँच क्वीन्टल आलु रोप्ने काम धमाधम भैरहेको छ । जौबारीमा केन्द्रको साढे तीन हेक्टर जमिन छ ।

मेसिनले रोपेको र ज्यामीले रोपेको आलु उत्पादनको अवस्था हेरेर अर्को वर्ष थप मेसिन खरिद गर्ने केन्द्र प्रमुख गौतमले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्