बिर्तामोड , माघ १९ । नेपाल शिक्षक संघ बिर्तामोडको छैटौं प्रतिनिधि सभामा नगरका १० जना उत्कृष्ट शिक्षक सम्मानित भएका छन् । 

सम्मानित हुनेहरुमा महेन्द्र रत्न माध्यमिक विद्यालयका सुजता आचार्य र उमाकुमारी राजवंशी ,वीर अमरसिंह माविका सोमनाथ तामाङ,मोहनमाया माविका राधादेवी ओली र कमला न्यौपाने ,सरस्वती मावि बुट्टावारीका सुशिला थपलिया,महेन्द्रज्योति माविका राजन प्रसाईं,पञ्चरत्न माविका मिना राजवंशी ,देवकोटा आधारभूत विद्यालयका गणेश सिटौला र लक्ष्मी आधारभूत विद्यालय विरानका हरिप्रसाद सुवेदी रहेका छन् ।

कार्यक्रममा स्थायी नियुक्तिका आधारमा सबैभन्दा जेष्ठ शिक्षकद्वय मिरा थपलिया र पदमा पाण्डेलाई टिकाप्रसाद देवकादेवी स्मृति पुरस्कारबाट नगद रु २ हजार ५०० सहित सम्मान गरिएको थियो। त्यस्तै यस वर्ष शिक्षण पेशाबाट अवकाश हुने धनबहादुर पोख्रेल र हरिबहादुर बस्नेतलाई दीर्घसेवा सम्मानसहित विदाई गरिएको थियो। महेन्द्रज्योति माविका नवनियुक्त प्रधानाध्यापक जयकुमार झा र शुक्रराज आविका सोमादेवेर दुलाललाई बधाई तथा शुभकामना दिइएको कार्यक्रममा यसै बर्ष सरुवा र नवनियुक्त १० जना शिक्षकहरूलाई स्वागत सम्मान गरिएको थियो ।

नेपाल शिक्षक संघ बिर्तामोडका सभापति जयकुमार प्रसाईको अध्यक्षतामा महेन्द्ररत्न माविमा भएको कार्यक्रममा नेपाली कांग्रेसका महासमिति सदस्य तथा जिल्ला कोषाध्यक्ष जलकुमार गुरुङको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमको विशिष्ट अतिथिमा नगर सभापति भोजराज सिटौला, नेपाल शिक्षक संघका निवर्तमान सभापति नेत्रप्रसाद खरेल,वडाध्यक्षहरु सूर्यप्रसाद कन्दङ्वा,दुर्योधन गुरुङ,रोहित प्रसाईं,शिक्षा युवा तथा खेलकुद शाखाका शाखा अधिकृत दिनेश आचार्य,नेपाल शिक्षक संघ झापाका उपाध्यक्ष धनकुमारी खरेल ,नेपाल शिक्षक महासंघ बिर्तामोडका अध्यक्ष युवराज कट्टेलको आतिथ्यता रहेको थियो। उक्त अवसरमा अध्यक्ष प्रसाईले नेपाल शिक्षक संघ बिर्तामोडले एक वर्षभित्रमा सम्पादन गरेका कार्यहरु साथै आगामी दिनमा गर्नुपर्ने कार्यक्रमहरुको विवरण प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि महासमिति सदस्य जलकुमार गुरुङ, नगर सभापति भोजराज सिटौला, पूर्व वडाध्यक्ष कुलप्रसाद संग्रौला, शिक्षा शाखाका प्रतिनिधि दिनेश आचार्य, शिक्षक महासंघका अध्यक्ष युवराज कट्टेललगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सरस्वती दाहालले स्वागत मन्तव्य राखेको सो कार्यक्रमको संचालन सचिव युवराज ढकालले गरेका थिए । बिर्तामोडमा नेपाल शिक्षक संघमा कुल १९५ शिक्षकहरु आवद्ध रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्