झापा, माघ १९ । कृषि बजार व्यवस्थापन समिति बिर्तामोडको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेबीच प्रतिष्पर्धा हुने भएको छ ।

नयाँ नेतृत्वको लागि माघ २० र २१ गते निर्वाचन हुँदैछ । माघ २० गते शनिवार कृषि बजारका व्यवसायीहरुको निर्वाचन हुँदैछ भने माघ २१ गते किसान प्रतिनिधिहरुको निर्वाचन तोकिएको छ । कृषि बजारमा २९५ जना व्यवसायीहरुले नवीकरण गरेका छन् । कृषि बजार व्यवस्थापन समितिको नियम अनुसार सबै सदस्य उम्मेदवार बन्न पाउँछन् । तर, व्यवसायीका तर्फबाट पार्वती खतिवडा(ज्योति), धर्मप्रसाद बराल, खगेन्द्र महत्तो , इन्द्रजीत चौधरी , नथुनीप्रसाद शाह , सोमविक्रम बोहोरा , चन्द्रबहादुर कटुवाल , सिता सिंह र विक्रम बरुवालले उम्मेदवार बन्ने आकांक्षा देखाएका छन् । शनिवार हुने निर्वाचनले तीनजना व्यवसायी प्रतिनिधि निर्वाचित गर्ने छ । उम्मेदवार बन्न चाहने अधिकांश व्यवसायी कांग्रेसनिकट रहेका छन् । त्यस्तै पालिकाहरुबाट सिफारिस भएका किसानहरुले किसान प्रतिनिधि निर्वाचित गर्नेछन् ।

कृषि बजार व्यवस्थापन समिति बिर्तामोडको कार्यक्षेत्र ८ वटा पालिका रहेको छ । ती पालिकाहरुले पाँच–पाँच जनाको दरले किसानको नाम सिफारिस गरेका छन् । तिनै ४० जना किसानहरुले निर्वाचनमा भाग लिन पाउने छन् । सिफारिस गरिएका किसानहरुमा अर्जुनधाराबाट भिमप्रसाद लम्साल , रमेश काफ्ले , राजेन्द्र काफ्ले , विन्दा सुवेदी लुइटेल र भानु मिश्र , कन्काई नगरपालिकाबाट कृष्णमाया भुजेल , मन्जुकुमारी खतिवडा , तपनकुमार मण्डल , चन्द्रप्रसाद चुडाल र डिल्लीराम सिटौला , बिर्तामोड नगरपालिकाबाट कमलादेवी गौतम , लक्ष्मीप्रसाद पौडेल , गोविन्दप्रसाद गौतम , विष्णुप्रसाद बराल र निरजकुमार ओली , भद्रपुर नगरपालिकाबाट फूलकुमारी राई , इन्द्रकुमारी घिमिरे , विद्याकुमारी थापा मगर , नरेन्द्र कार्की र निर्मल अधिकारी रहेका छन् । त्यस्तै मेचीनगर नगरपालिका ,बुद्धशान्ति , हल्दिवारी र बाह्रदशी गाउँपालिकाबाट पनि पाँच–पाँच जनाको दरले किसानको नाम सिफारिस भएको छ । सिफारिस भएका धेरै किसान एमाले निकट भएको बताइएको छ । ४० जना प्रतिनिधिमध्ये आफूहरुको २५ जना रहेको एकजना एमाले कार्यकर्ताले बताए ।

व्यवसायीबाट ३ र किसानबाट ३ गरी ६ जना छानिएपछि उनीहरुमध्येबाट अध्यक्ष चुनिले प्रावधान रहेको छ । त्यस निर्वाचनमा बिर्तामोड ५ का वडाध्यक्षले निर्णायक मत दिन पाउने अधिकार रहेको छ ।अहिलेसम्म किसान प्रतिनिधिबाटै अध्यक्ष निर्वाचित हुँदै आएको छ । भोलिको व्यवसायीहरुको निर्वाचन देवी माध्यमिक विद्यालयमा हुनेछ भने पर्सी किसानको निर्वाचन कृषि बजार व्यवस्थापन समितिको कार्यालयमा हुने जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्