बिर्तामोड, माघ २० ।वीरता लेडी जेसीजले शुक्रवार झण्डोत्तोलन गरेको छ ।

बिर्तामोड–१ स्थित आफ्नै सचिवालयमा लेडी जेसीजले झण्डोत्तोलन गरेको हो । सचिवालयमा नेपालको झण्डा र वीरता लेडी जेसीजको झण्डा राखिएको छ ।

लेडी जेसीजको नयाँ कार्यसमितिले आफ्नो कार्यकालको पहिलो कार्यक्रमका रुपमा सचिवालयमा झण्डोत्तोलन गर्ने परम्परा छ । सन् २०२० की अध्यक्ष सुष्मा भण्डारीले झण्डोत्तोलन गर्ने परम्परा सुरु गरेकी हुन् ।

भण्डारीको कार्यकालयता हरेक नवनिर्वाचित कार्यसमितिले झण्डोत्तोलन गर्दै आएको वीरता लेडी जेसीजकी अध्यक्ष मेनुका ओलीले बताइन् । झण्डोत्तोलनसँगै ओलीको कार्यकाल पनि प्रारम्भ भएको छ ।

एकपछि अर्काे जिम्मेवारीका बीच जेसीजमा प्रवेश गरेको पाँच वर्षमा अध्यक्षको जिम्मेवारी सम्हाल्ने अवसर पाएकी ओलीले आफ्नो कार्यकालमा तोकिएको समयमा कार्यक्रम सुरु गर्ने र अन्त्य गर्ने परम्परालाई स्थापित गर्ने उद्घोष गरेकी छन् ।

वीरता लेडी जेसीजकी संस्थापक अध्यक्ष शारदा रिजालको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा नेपाल जेसीजकी पूर्व उपाध्यक्ष स्वस्तिका आचार्य, पूर्व अध्यक्ष सुष्मा भण्डारी, निवर्तमान अध्यक्ष संगीता गिरीलगायतले नयाँ नेतृत्वलाई शुभकामना दिँदै ओलीको कार्यकाल अझै रचनात्मक र प्रभावकारी हुने विश्वास व्यक्त गरेका छन् ।

महासचिव मुना ढुंगेलले सञ्चालन गरेको कार्यक्रममा कविता ओलीले स्वागत मन्तव्य राखेकी थिइन् भने चन्द्रकला रिजालले आस्था वाचन गरेकी थिइन् ।

कोपिला पोखरेलले जेसीज भिजन प्रस्तुत गरेको कार्यक्रममा पूर्व अध्यक्ष क्लवकी अध्यक्ष राधा सुब्बा, पूर्व अध्यक्षहरु रजनी बजगाईं र संगीता चिमरियालगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्