बिर्तामोड, माघ २० ।माछापालक किसानहरुले राज्यको निकायहरुबाट आफूहरु हेपिएको आरोप लगाएका छन् । उनीहरुले राज्यका निकायहरुले माछापालक किसानका समस्या तथा गुनासा नसुन्ने गरेको बताएका छन् ।

शनिबार झापाको बिर्तामोड–३ सैनिकमोडमा सम्पन्न माछापालक किसानहरुको झापा जिल्लास्तरीय भेलामा सहभागी किसानले तीनै तहका सरकारले माछालाई कुनै प्राथमिकतामा नराखेको गुनासो गरे । ‘माछापालक किसानलाई स्थानीय, प्रदेश र संघ कहीँबाट कुनै सहयोग छैन् । न प्राविधिक छ न प्राविधिक ज्ञान नै दिन्छ’ नेपाल मत्स्यपालक किसान संघ कोशी प्रदेशका अध्यक्ष विष्णु आचार्यले भने ।

उनले माछा हेर्नेगरी सरकारले छुट्टै निकाय बनाउनुपर्ने माग राखे । फर्मालिन हालेर ल्याएका मरेका भारतीय तथा मांगुर माछाको आयात तथा बिक्री वितरणमा पूर्ण रुपमा कडाई गर्नुपर्नेमा उनको जोड थियो । मानव स्वास्थ्यमा क्यान्सरजस्तो रोग फैलाउन सक्ने मांगुर माछाको सेवनमा रोक लगाउनेगरी सरकारले जनचेतना फैलाउनुपर्ने उनको भनाई छ । अर्जुनधाराका किसान डेगनाथ खतिवडाले माछा विषयलाई हेर्नेगरी कम्तिमा प्रदेश सरकारले छुट्टै मन्त्रालय वा बोर्ड गठन गर्नुपर्नेमा जोड दिए । उनले किसानलाई माछाको विषयमा बढीभन्दा बढी तालिम तथा प्राविधिक ज्ञान हासिल हुने किसिमका पाठशाला निर्माण गर्नुपर्ने बताए ।

मन्जिल देवानले भारतबाट अवैध रुपमा आयात हुने गुणस्तरहीन माछाको भुराको आयातमा पनि रोक लगाउनुपर्ने धारणा राखे । गुणस्तरीय माछाका भुरा नपाउँदा किसानले आशातित लाभ लिन नसकिरहेको उनको भनाई छ । नेपाल मत्स्यपालक किसान संघका झापा अध्यक्ष होम सिटौलाले उत्पादित माछाको मूल्य प्रतिकेजी कम्तिमा २ सय ६० रुपैयाँ पाउने वातावरण बताउनुपर्नेमा जोड दिए । उनले अवैध रुपमा भित्रिने मरेका भारतीय माछाको आयात तथा बिक्री वितरणमा रोक लगाउने कार्यमा किसान सँधै क्रियाशील हुनुपर्नेमा जोड दिए ।

किसान हरि मैनालीले अहिले माछापालक किसानलाई गुणस्तरीय भुरा प्राप्त गर्ने ठूलो समस्या रहेको बताए । गुणस्तरीय भुरा प्राप्त गर्न नसक्दा किसानले बर्षेनि ठूलो आर्थिक क्षति बेहोर्नुपरेको धारणा राखे । कार्यक्रम मेची मत्स्य व्यवसायिक कृषक समूहका अध्यक्ष लक्ष्मी सिवाकोटीको अध्यक्षता तथा भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र झापाका प्रमुख शितल भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । नेपाल मत्स्यपालक किसान संघ कोशी प्रदेशका वरिष्ठ उपाध्यक्ष मोहन सिवाकोटीले स्वागत मन्तव्यसहित कार्यक्रमको औचित्यमाथि प्रकाश पारेको कार्यक्रमको सञ्चालन मेची मत्स्य व्यवसायिक कृषक समूहका सचिव मोहनसिंह राजवंशीले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्