झापा, माघ २० । कृषि बजार व्यवस्थापन समिति बिर्तामोडको नयाँ नेतृत्व चयनका लागि आज भएको मतदानबाट तीनजना व्यवसायी प्रतिनिधि निर्वाचित भएका छन् ।

निर्वाचित हुनेहरुमा इन्द्रजित चौधरी , पार्वती खतिवडा(ज्योति) र खगेन्द्र महतो रहेका छन् । चौधरीले सबैभन्दा बढी १३३ मत ल्याएका छन् भने दोस्रो स्थानमा खतिवडाले ११४ मत प्राप्त गरेकी छन् । त्यस्तै व्यवसायी प्रतिनिधिमा निर्वाचित महतोले १०४ मत पाएका छन् । निर्वाचनमा उम्मेदवारी दिएका चन्द्रबहादुर कटुवालले ९२ , धर्मप्रसाद बरालले ९१ , सोमविक्रम बोहोराले ८९ , सिता सिंहले ७६, नथुनीप्रसाद शाहले ३५ र विक्रम बरुवालले २१ मत ल्याएको समितिका अध्यक्ष कमलप्रसाद पौडेलले जानकारी दिएका छन् । कृषि बजारका २९५ जना व्यवसायीहरुले नवीकरण गरेकोमा २७८ जनाले मतदान गरेका थिए । बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदानको समय तोकिएको थियो ।

नयाँ नेतृत्वको लागि आज र भोलि गरी दुई दिनको निर्वाचन कार्यक्रम तय भएको हो । आज कृषि बजारका व्यवसायीहरुको निर्वाचन भएको हो भने भोलि किसान प्रतिनिधिहरुको निर्वाचन हुने निर्वाचन टोलीका दामोदर पोखरेलले बताए । निर्वाचन गराउन कृषि विभाग काठमाडौबाट पोखरेलसहित अनुसा कार्की र उर्मिला शाही आएका छन् ।

कृषि बजार व्यवस्थापन समिति बिर्तामोडको कार्यक्षेत्र ८ वटा पालिका रहेको छ । ती पालिकाहरुले पाँच–पाँच जनाको दरले किसानको नाम सिफारिस गरेका छन् । तिनै ४० जना किसानहरुले भोलिको निर्वाचनमा भाग लिन पाउने छन् । सिफारिस गरिएका किसानहरुमा अर्जुनधाराबाट भिमप्रसाद लम्साल , रमेश काफ्ले , राजेन्द्र काफ्ले , विन्दा सुवेदी लुइटेल र भानु मिश्र , कन्काई नगरपालिकाबाट कृष्णमाया भुजेल , मन्जुकुमारी खतिवडा , तपनकुमार मण्डल , चन्द्रप्रसाद चुडाल र डिल्लीराम सिटौला , बिर्तामोड नगरपालिकाबाट कमलादेवी गौतम , लक्ष्मीप्रसाद पौडेल , गोविन्दप्रसाद गौतम , विष्णुप्रसाद बराल र निरजकुमार ओली , भद्रपुर नगरपालिकाबाट फूलकुमारी राई , इन्द्रकुमारी घिमिरे , विद्याकुमारी थापा मगर , नरेन्द्र कार्की र निर्मल अधिकारी रहेका छन् । त्यस्तै मेचीनगर नगरपालिका ,बुद्धशान्ति , हल्दिवारी र बाह्रदशी गाउँपालिकाबाट पनि पाँच–पाँच जनाको दरले किसानको नाम सिफारिस भएको छ ।

यसैबीच गैरकिसानलाई पालिकाहरुले किसान प्रतिनिधिको रुपमा सिफारिस गरेको भन्दै पाँचजनाविरुद्ध उजुरी परेको छ । बिर्तामोडका निरजकुमार ओली , अर्जुनधाराका भीमप्रसाद लम्साल र रमेश काफ्ले ,कन्काईका कृष्णमाया भुजेल र तपनकुमार मण्डलविरुद्ध उजुरी परेको हो । व्यवसायीबाट ३ र किसानबाट ३ गरी ६ जना छानिएपछि उनीहरुमध्येबाट अध्यक्ष चुनिले प्रावधान रहेको छ । ६ जनाबाट निर्णय हुन नसकेमा बिर्तामोड ५ का वडाध्यक्षले निर्णायक मत दिन पाउने अधिकार रहेको छ ।अहिलेसम्म किसान प्रतिनिधिबाटै अध्यक्ष निर्वाचित हुँदै आएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्