झापा, माघ २१ । अधिकांश विपन्न वर्गका बालबालिकाहरु अध्ययन गर्ने बिर्तामोड १० स्थित महेन्द्रज्योति माध्यमिक विद्यालयका विद्यार्थीहरुले स्कुल जुत्ता र व्याग पाएका छन् ।

आर्थिक अभावका कारण अभिभावकहरुले जोहो गर्न नसक्दा खाली खुट्टा र चप्पलमा विद्यालय आउन बाध्य बालबालिकाहरु जुत्ता पाएपछि हर्षित भएका छन् । गत पुष ९ गतेदेखि माघ १९ गतेसम्म बिर्तामोडमा कोशी प्रदेशस्तरीय ‘प्रथम बिर्तामोड जुत्ता चप्पल व्यापार महोत्सव’ संचालन गरेको नेपाली जुत्ता उद्योगी समूहले सो विद्यालयका १५० जना विद्यार्थीहरुलाई स्कुल जुत्ता वितरण गरेको हो । त्यस्तै लायन्स क्लब अफ बिर्तामोड लेडीले विद्यार्थीहरुलाई ५० थान व्याग वितरण गरेको छ ।

आइतवार विद्यालयमा आयोजित कार्यक्रममा बिर्तामोड नगरपालिकाका नगर प्रमुख पवित्रा महतारा प्रसाई, उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला , फुटवेयर म्यानुफ्याक्चर्स एसोसिएसन अफ नेपालका निवर्तमान अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नानीराज घिमिरे ,एसोसिएसनकै निवर्तमान अध्यक्ष होमनाथ उपाध्याय,लायन्स क्लब अफ बिर्तामोड लेडीकी अध्यक्ष निरु उप्रेती ओलीलगायतले जुत्ता र व्याग वितरण गरे । दाताहरुले विद्यालयमै आएर विद्यार्थीहरुलाई सहयोग गरेकोमा नगर प्रमुख प्रसाई , उपप्रमुख संग्रौलालगायतले प्रशंसा गरेका छन् ।कार्यक्रममा बोल्दै फुटवेयर म्यानुफ्याक्चर्स एसोसिएसन अफ नेपालका निवर्तमान अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य घिमिरेले ‘स्वदेशी उत्पादन प्रवर्धन हाम्रो अभियान’ भन्ने नारासहित स्वदेशी उत्पादनमा लागेको नेपाली जुत्ता उद्योगी समूहले व्यवसायिकसंगै विभिन्न सामाजिक कार्यहरु गर्दै आएको बताए । उनले उद्योगी समूहका तर्फबाट विद्यालयलाई सानो सहयोग गरेको भन्दै आगामी दिनमा पनि निरन्तर सहयोग गर्ने प्रतिवद्धता जनाए ।

त्यस्तै लायन्स क्लब अफ बिर्तामोड लेडीकी अध्यक्ष ओलीले विपन्न वर्गका बालबालिकाहरुलाई सहयोग गर्न पाएकोमा खुशी लागेको बताइन् । बिर्तामोड १० का वडाध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्योधन गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्यसहित कार्यक्रमको औचित्यमाथि प्रधानाध्यापक जयकुमार झाले प्रकाश पारेका थिए । शिक्षक वीरेन्द्र कडरियाले संचालन गरेको कार्यक्रममा वडा सदस्यहरु धनकुमारी श्रेष्ठ , दिपिका सिवा , नेपाली जुत्ता उद्योगी समूहका हरिश चम्लागाई , विशाल खड्का ,अभिभावक , शिक्षक लगायतको उपस्थिति रहेको थियो । सहयोग हस्तान्तरण कार्यक्रमको समन्वय प्रतिदिन दैनिकका सम्पादक इन्द्रसिंह राजवंशीले गरेका थिए ।

एक महिनाभन्दा बढी लामो महोत्सवको सफलतापछि नेपाली जुत्ता उद्योगी समूहले नेपाली जुत्ताघरको सोरुम बिर्तामोडको सिटी सेन्टरमा संचालन गरेको छ । सोरुममा नेपालमा स्थापित चर्चित जुत्ता चप्पल उत्पादक कम्पनी र ब्रान्डहरू– रोयल फुटवेयर इण्डष्ट्रिज प्रालिको रोयल शुज, वेश फुटवेयर इन्डष्ट्रिज प्रालिको उत्पादन बीएफ डियर हील शुज , लालीगुराँस फुटवेयर इन्डष्ट्रिज प्रालिको क्रशरोड शुज , शुभकामना फुटवेयरको फस्टवाक शुज , स्मार्ट शुज इन्डष्ट्रिज प्रालिको स्मार्ट शुज , डी. जे. शुज कम्पनीको डीजे शुज , एक्सन फुटवेयर कम्पनीको टुरिस्ट शुज र रन शुज इन्डष्ट्रिज प्रालिको रन शुज गरी ८ वटा कम्पनीको १५ भन्दा बढी ब्राण्डहरुको सहभागिता रहेको छ ।