झापा, माघ २३ । नेपाली कांग्रेसका पुराना नेता एवम् पूर्वमन्त्री केशवकुमार बुढाथोकीको शवयात्रामा हजारौले सहभागिता जनाएका छन् ।

नेपाली कांग्रेसको जिल्ला पार्टी कार्यालयबाट निकालिएको शवयात्रामा हजारौको सहभागिता रहेको हो । त्यसअघि स्व. नेता बुढाथोकीको शवलाई अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिएको थियो ।

उनको शवलाई पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली , कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा , पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, पूर्व मुख्यमन्त्री उद्धव थापा ,पूर्व महान्यायाधिवक्ता अग्नी खरेल ,कांग्रेस केन्द्रीय सदस्यहरु दीपक गिरी , सरिता प्रसाई , अमृत अर्याल, पूर्व सांसद डिल्लीप्रसाद सिटौलालगायतले श्रद्धाञ्जली अर्पण गरेका थिए ।

त्यस्तै ठूलो संख्यामा विभिन्न पार्टीका नेता कार्यकर्ता , संघ संस्थाका प्रतिनिधि, व्यवसायी , शुभेच्छुक ,सर्वसाधारणहरु श्रद्धाञ्जली दिन उपस्थित रहेका थिए । पार्टीका महामन्त्री विश्वप्रकाश शर्मा , पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला , पूर्व मुख्यमन्त्री उद्धव थापा , जिल्ला सभापति देउकुमार थेबेलगायतले बुढाथोकीको पार्थिव शरीरमाथि पार्टीको झन्डा ओढाएका थिए । शवयात्रापछि अहिले कन्काई माईमा बुढाथोकीको अन्त्येष्टि भइरहेको छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य, पूर्वमन्त्री झापा अर्जुनधारा निवासी बुढाथोकीको गएराति ११ः३० बजे बिराटनगरस्थित बिराट मेडिकल कलेजमा उपचारका क्रममा ८० वर्षको उमेरमा निधन भएको हो ।उनी प्रोस्टेट क्यान्सर रोगबाट पीडित थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्