इलाम, माघ २७ । इलामको रोङ गाउँपालिका–२ दुधेबाट बेपत्ता भएका ६ बर्षीय बालक निर्भिक तामाङको व्यापक खोजी गरिरहेको प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।

खोजी कार्य र घटना अनुसन्धानमा सहयोग पुर्याउनका लागि बेपत्ता बालकको हजुरआमा पर्ने एक जना आफन्तलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय इलामका डीएसपी प्रकाश जवेगूले जानकारी दिए । डीएसपी जवेगूले बालकको खोजी कार्यमा हालसम्म उपलब्धी नदेखिएको बताउँदै एक जना आफन्तलाई सोधपुछका लागि नियन्त्रणमा लिएको जानकारी दिए । ती महिला निर्भिकको हजुरआमा पर्ने हुन् । बेपत्ता हुनुअघि बालक ती महिलासंगै घरबाट निस्किएको देखिन्छ ।
बालकको खोजीमा आज बिहानैदेखि डीएसपी जवेगूको नेतृत्वमा २५ जना प्रहरी परिचालन गरिएको थियो । खोजी कार्यमा प्रहरीले २ वटा कुकुरको समेत प्रयोग गरेको थियो । संभावित क्षेत्रमा खोजी गरिएपनि बालक फेला पर्न नसकेको जवेगूले बताए ।

सुनसरीको धरान उपमहानगरपालिका–८ दुर्गा मार्ग घर भएका बालक निर्भिक इलामको रोङ–२ स्थित मामाघर आएका थिए । विजय ग्लान तामाङ र शान्तकुमारी तामाङका छोरा निर्भिक बिहीवार दिउँसोबाट बेपत्ता भएका हुन् ।

अन्दाजी ३ फिट ५ इन्च उचाईका उनी पातलो दुब्लो शरीर भएको र करिब १२ केजी तौल रहेको परिवारले जनाएको छ । बेपत्ता भएको समयमा बालकले कालो रङ्गको ट्रयाक र सुन्तला रङ्गको जम्पर लगाएको बताइएको छ । उनको खोजी कार्यमा सहयोग गरिदिन परिवार, आफन्त र प्रहरीले आग्रह गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्