झापा, माघ २७ । सबै नेताहरुको सम्पत्ति छानबिन गर्नुपर्ने माग गर्दै आएका राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नै सम्पत्तिबाट सो कार्य शुरु गर्न आग्रह गरेका छन् ।

राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन बिर्तामोडको नगर अधिवेशनलाई उद्घाटन गर्दै अध्यक्ष लिङ्देनले आफ्नै सम्पत्तिबाट छानबिन शुरु गरे आफू तयार रहेको बताएका हुन् । उनले २०४६ सालपछिका नेता ,मन्त्री र सांसदको सम्पत्ति छानबिन गर्नुपर्नेमा जोड दिए । उनले साढे ३० दशक देश चलाएका कांग्रेस , एमाले र माओवादीले देशलाई केही पनि दिन नसकी बेरोजगार , असुरक्षा र आ–आफ्ना परिवारका लागि लुटतन्त्रमात्र मच्चाएको आरोप लगाए । जाँचै नदिई , योग्यता र क्षमता हेर्दै नहेरी भागवन्डाका आधारमा संवैधानिक नियुक्ति दिनु गलत भएको टिप्पणी गरे । ‘भागवन्डाका आधारमा गरिएको न्यायाधीश , कुलपति, उपकुलपतिको नियुक्तिले निष्पक्षता दिन सक्दैन’ उनले भने ।

नेपाल भूराजनीतिक चपेटामा पर्नसक्ने खतरा रहेको भन्दै उनले देश कुनै पनि बेला शक्ति राष्ट्रको द्वन्द्वको शिकार बन्नसक्ने चिन्ता व्यक्त गरे ।‘अन्तर्राष्ट्रिय शक्ति केन्द्रको आशीर्वादबिना सत्तामा टिकिरहन गाह्रो पर्ने सोच दलहरुमा हावी भएको छ ’उनले भने,‘यो भूराजनीतिक चपेटाको नोक्सानी हामीले बेहोर्नु पर्छ ।’ राप्रपा बिर्तामोड अध्यक्ष रन्जु प्याकुरेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सांसद गोपाल गजमेर , राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन झापाका अध्यक्ष राजकुमार राई , पार्टीका जिल्ला सदस्य लक्ष्मी ढकाल, राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन झापाकी सचिव शिखा खड्का ,वडा समितिका भवानीशंकर राउतलगायतले शुभकामना मन्तव्य राखेका थिए । सन्तोष कडरियाले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन जनक खड्काले गरेका थिए ।

यसैबीच सो अधिवेशनले अनवर शेख प्रिन्स खानको अध्यक्षतामा राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन बिर्तामोडको नगर समिति गठन गरेको छ । जसको सदस्यहरुमा अनुप खड्का , उमेश राई , जय हाङ्वो राई , पवन महतो , रवि चुडाल ,बबि काफ्ले , पुकार राई , चन्द्र खरेल ,अर्पण पोखरेल , सन्तोष वि.क.,किरण तामाङ, जंगबहादुर वि.क.,जीवन भण्डारी ,धिरेन्द्र वि.क.,खेमराज वि.क.,सुमन चौधरी , संजोग राई ,समिर टुडू ,करिना बेगम ,खुश्बु बेगम ,महमद समित ,गजेन्द्र शेर्पा ,पर्शु वि.क.,दिपेश भट्टराई , सुभाष मगर ,कमल बराल ,सूर्य चम्लागाँई ,कृष्ण श्रेष्ठ , भीम थापा , युवक खान , सुरेन्द्र अधिकारी ,पूर्णिमा लामगादे , अग्नि थापा ,ललित राजवंशी ,मोहन खरेल ,मनकुमार चुडाल ,सविता भट्टराई ,रविन नेपाल र डिल्ली राजवंशी रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्