झापा , माघ २७ । कप्तान रोहित पौडेल र यू–१९ का कप्तान देव खनालको उत्कृष्ट साझेदारीले नेपालले क्यानडाविरुद्धको तीन खेलको शृंखला २–० ले जितेको छ ।

पौडेल र खनालले १६४ बलमा १५० रनको साझेदारी गरेका हुन् ।
शनिबार क्यानडाविरुद्धको भएको दोस्रो खेल ४ विकेटले जितेसँगै नेपालले एक खेलअघि नै शृंखला हात पारेको हो । बिहीबार नेपालले पहिलो खेल ७ रनले जितेको थियो ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शनिबार टस जितेर क्यानडाले पहिला ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २८५ रन बनाएको थियो । नेपालले ४५.१ ओभरमा ६ विकेट गुमाउँदै २८७ रन बनायो ।
नेपालको तर्फबाट अनिल साह, रोहित पौडेल र देव खनालले अर्धशतक पूरा गरेका थिए । साहले २० बलमा ३ छक्का र ७ चौका प्रहार गर्दै ५० रन बनाए । साह एक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो अर्धशतक बनाउने नेपाली खेलाडी बने ।
यस्तै पौडेलले १०१ खेली ४ छक्का र ८ चौकाको मद्दतबाट ८७ रन बनाए भने खनालले ८१ बल खेल्दै २ छक्का र ७ चौका हान्दै ७६ रन बनाए ।

नेपालको तर्फबाट आसिफ शेखले १०, भीम सार्कीले २३, पवन सर्राफले १४, कुशल मल्ल र सोमपाल कामीले ९–९ रन बनाए ।
पहिलो इनिङ्समा क्यानडाका आरोन जोन्स र नभनित ढालिवालले पहिलो विकेटमा १९ ओभरभित्र ९४ रनको साझेदारी गरे क्यानडालाई उत्कृष्ट सुरुवात दिलाएका थिए । तर कप्तान रोहित पौडेल र कुशल मल्लको उत्कृष्ट बलिङमा नेपालले राम्रो पुनरागमन गरे पनि तल्लोक्रममा ब्याटरले क्यानडालाई राम्रो स्कोरमा पु¥याए ।
डेब्यु गरिरहेका आकाश चन्दले ढालिवाललाई आउट गरी यो साझेदारी तोडेका थिए । ढालिवालले ६० बल खेली ८ चौका प्रहार गरी ४६ रन बनाए । जोन्सले रनआउट हुनुपूर्व ६२ बल खेली १० चौका र २ छक्का प्रहार गरी ६५ रन बनाए ।

प्रगत सिंह ३८ बलमा ६ चौका प्रहार गर्दै ३८, निकोलस कीर्तन २९ बल खेली २ चौका प्रहार गरी २० रन बनाई आउट भए । हर्ष ठाकेर ३, आफ्नो पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेलिरहेका दिलप्रित बाज्वा १९, कप्तान साद बिन जाफर १ र साहिद अहमदजाई १३ रन बनाई आउट भए ।
श्रेयस मोभ्भा र उदय भगवालले नवौं विकेटमा ४६ रनको साझेदारी गरे । मोभ्भा इनिङ्सको अन्तिम बलमा आउट भए । उनले ४२ बल खेली ४ चौका प्रहार गरि ४० रनमा आउट भए । भगवानले १५ बलमा अविजित २२ रन बनाउनेक्रममा समान १ चौका र छक्का प्रहार गरे ।

रोहित र कुशलले २–२ विकेट लिए । रोहितले ८ ओभरमा ३२ र कुशलले १० ओभरमा ५१ रन खर्चे । सूर्य तामाङ, आकाश, सोमपाल कामी र पवन सर्राफले १–१ विकेट लिए । सूर्यको यो पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय विकेट हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्