बिर्तामोड, माघ २८। बिर्तामोड नगरपालिकाले उत्कृष्ट कर्मचारीसहित जग्गादातालाई सम्मान गरेको छ ।

आईतबार वडा नम्बर ७ स्थित शहीद नेत्रपार्कमा आयोजित नगरपालिकाको दोस्रो नगरसभाको चौंथो अधिवेशनका अवसरमा उत्कृष्ट कर्मचारी तथा जग्गादातालाई सम्मान गरिएको हो ।

उत्कृष्ट कर्मचारीको रुपमा सम्मानित हुने शिक्षा शाखाका अधिकृत दिनेशप्रसाद आचार्य, वडा नम्बर ९का वडासचिव सुवासकुमार वि.क र बिर्तामोड नगर अस्पतालकी सिनियर अनमी ओमकुमारी गुरुङलाई २५ हजार नगदसहित सम्मान गरिएको हो ।

त्यस्तै नगरपालिकाले वडा नम्बर १० मा आधारभूत स्वास्थ्य केन्द्र तेलगानीलाई स्वास्थ्य चौकी भवन निर्माणका लागि जग्गा दिने जग्गादाता श्रीप्रसाद शिवाकोटी दम्पत्तिलाई दोसल्ला ओढाएर सम्मान गरेको छ ।
सम्मानित हुनेहरुलाई प्रतिनिधिसभा सदस्य हर्कमाया विश्वकर्मा, जिल्ला समन्वय समिति उपप्रमुख शान्ता रोक्का, नगर प्रमुख पवित्रा महतारा प्रसाई, उप प्रमुख नगेन्द्रप्रसाद संग्रौला, प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेले अबिरसहित दोसल्ला औढाएर सम्मानपत्र प्रदान गरे ।

सोहि कार्यक्रमका विच सरकारी सेवा निवृत भएका बिर्तामोड नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख (अधिकृत स्तर छैटौं) डिल्ली दाहाललाई विदाई गरिएको छ । भद्रपुर नगरपालिका १० निवासी दाहालले २०४४ साल मंसिर १४ गतेदेखि सरकारी सेवामा प्रवेश गरेका थिए । नगर प्रमुख प्रसाई र वडा नम्बर ६ का वडाध्यक्ष सूर्यप्रसाद कन्दङ्वाले अधिकृत दाहालले बिर्तामोड नगरपालिकामा रहँदा गरेका कार्यहरुको उच्च प्रशंसा गरे ।

विदाई भएका दाहाललाई कार्यक्रमका अतिथि, नगर प्रमुख, उप प्रमुख, प्रमुख प्रशासकीय अधिकृतले बिदाईपत्रसहित दोसल्ला ओढाएर मायाको चिनो प्रदान गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्