बिर्तामोड, माघ २८। बिर्तामोड नगरपालिकाले दोस्रो नगरसभाको चौंथो अधिवेशनले २ वटा विधेयकसहित विभिन्न प्रस्ताव पारित गरेको छ ।


आइतबार वडा नम्बर ७ स्थित शहीद नेत्रपार्कमा आयोजित नगरसभामा २ वटा विधेयकसहित ७ वटा प्रस्ताव पारित भएको हो ।
पारित भएका विधेयकहरुमा फोहोरमैला व्यवस्थापन विधेयक २०८० र आर्थिक ऐन २०८० दोस्रो संशोधन गर्ने विधेयक २०८० रहेका छन् । यो विधेयक विधायक समिति संयोजक शर्मिला राजवंशीले सभामा पेस गरेकी थिइन् ।
यस्तै नगरसभाको सभाध्यक्ष नगर प्रमुख पवित्रा महतारा प्रसाईले पेस गरेका ४ वटा र नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले पेश गरेका ३ वटा प्रस्ताव सर्वसम्मत पारित भएका छन् ।

नगर प्रमुख प्रसाईले पेस गरेको स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा २२ अनुसार सुशासन समिति र विधायन समिति गठन गर्ने, नगरभित्रका सडकहरुमा प्रयोग गरिने पेवर्स ब्लकको गुणस्तरीयता कायम गर्न नेपाल गुणस्तर चिन्ह एनएस प्राप्त पेवर्स ब्लक मात्र प्रयोग गर्ने, नगरपालिका क्षेत्रभित्र विगतमा पेवर्स जडान गरी निर्माण गरिएका १सय मिटरभन्दा कमका अधुरा सडकहरुलाई सम्बन्धित वडाको आगामी वर्षको सिलिङबाट ५० प्रतिशत र नगरपालिकाबाट ५० प्रतिशत लागत व्यहोर्ने र डिपिआर पास भएर प्रक्रियाको चरणमा रहेको देवीहाट बुधबारे बजारमा बहुतले पार्किङसहितको देबी कम्प्लेक्स निर्माणका लागि नगर विकास कोषमा ऋण र अनुदान माग गर्ने प्रस्ताव पारित भएको हो ।

यस्तै उपप्रमुख संग्रौलाले पेश गरेको आ.ब ०८०÷८१ का लागि स्वीकृत योजना तथा कार्यक्रममा केही संशोधन तथा रकमान्तर गर्ने, बिभिन्न मितिमा कार्यपालिका तथा नगर प्रमुखबाट निर्णय भई कार्यान्वयन भएका र उल्लेखित योजना तथा कार्यक्रम अनुमोदन गर्ने र स्वीकृत बजेटअनुसार लक्षित वर्गमा बिनियोजित बजेटबाट सञ्चालन गरिने योजना तथा कार्यक्रम स्वीकृत गर्ने सम्बन्धी प्रस्ताव पारित भएको हो ।

प्रस्तावहरुमाथि छलफलका क्रममा वडा सदस्यहरु टेकबहादुर अधिकारी, ओमभक्त सेडाई, अग्निप्रसाद सिटौला र हेमलता विश्वकर्माले सुझाव राखेका थिए ।

नगर उपप्रमुख संग्रौलाले सभामा अर्धवार्षिक समीक्षासंगै पौष मसान्तसम्मको आम्दानी र खर्च पेश गरे ।समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान, समपुरक अनुदान, राजश्व बाँडफाँट आन्तरिक स्रोत (समेत), घरजग्गा रजिष्ट्रेशन (मालपोत) गरि जम्मा ५४ करोड, १२ लाख ७२ हजार ८ सय ६ रुपैयाँ ४५ पैसा आम्दानी भएको छ । यस्तै चालु र पुँजीगत खर्च गरि कुल ३५ करोड ३८ लाख ७२ हजार ६ सय ८३ रुपैयाँ २९ पैसा खर्च भएको जनाईएको छ ।

कोशी प्रदेश सभा सदस्य तथा पूर्व भौतिक पूर्वाधार विकास मन्त्री एकराज कार्कीको प्रमुख आतिथ्यमा आयोजित नगरसभामा प्रतिनिधिसभा सदस्य हर्कमाया विश्वकर्मा, जिल्ला समन्वय समिति उप प्रमुख शान्ता रोक्काको आतिथ्य रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्