झापा , माघ २९ । घरधनी र होटल संचालकबीचको विवादका कारण काँकडभिट्टास्थित होटल हिकोला हेरिटेज बन्द भएको छ ।

घरभाडामा विवाद भएपछि होटलमा ताला लगाइएको छ । दुवै पक्षले होटल संचालन भएको घरमा ताला लगाएका हुन् । विगत निकै समयदेखि घरभाडाका विषयमा विवाद चलिरहेपनि बिहीवार साँझदेखि अझ तीब्र बनेको छ । घरधनीले होटलबाट दुर्व्यवहार गरी आफूहरुलाई निकालेर अन्याय गरेको संचालक देवीभक्त श्रेष्ठले बताए । उनले हिजो साँझ बिर्तामोडस्थित हिकोला हेरिटेजमा पत्रकार सम्मेलन गरी आफूमाथि अन्याय भएको भन्दै न्यायका लागि गुहारेका छन् ।

सञ्चालक देवीभक्त श्रेष्ठका छोरा गौरव श्रेष्ठले काँकडभिट्टामा सञ्चालन गरिरहेको होटलमा स्थानीय केहि युवाहरुको हुलहुज्जतले ज्यान मार्ने प्रयास गरेको आरोप लगाएका छन् । सोही अनुसार आफुमाथि आक्रमण भएको आरोप लगाए । होटलको वार्षिकोत्सवको अवसरमा आयोजना गर्न लागेको कार्यक्रमको अघिल्लो दिन स्थानीय युवाहरुले आक्रमण गरेको उनको दावी छ ।


माघ २५ गते काँकडभिट्टास्थित होटलमा गौरवलाई स्थानीय केही युवाहरुले कुटपिट गर्दै होटलबाट बाहिर निकालेको सीसी टिभी फुटेजमा देखिन्छ । कुटपिटबाट उनको शरीरमा चोट समेत लागेको छ । होटल सञ्चालकमाथि कुटपिट भएपछि उनीहरुले प्रहरी प्रशासनमा न्यायका लागि माग गर्दा पनि सुनुवाई नभएको गुनासो गरेका छन् ।

२६ गतेको छलफल अनुसार होटल सञ्चालक श्रेष्ठ आइतवार काँकडभिट्टास्थित होटल पुगेका थिए । श्रेष्ठले बताए अनुसार आइतवार पनि उनीमाथि दुर्व्यवहार भएको छ । मेची उद्योग वाणिज्य संघका अध्यक्ष खेम प्रसाईकै अगुवाईमा दुर्व्यवहार भएको गौरवको आरोप छ । होटल नै घरधनीसहितको समूहले हडप्ने योजना बनाएको सञ्चालक श्रेष्ठको आरोप छ । उनले सम्झौता अनुसार १२ वर्ष अझै होटल चलाउन पाउने दावी गरेका छन् । घरधनीबाट उल्टै करोडौ रुपैयाँ पाउनुपर्ने दावी गर्दै आएका सञ्चालक देवीभक्त श्रेष्ठले भाडा बुझाउन बाँकी समेत नरहेको पत्रकार सम्मेलनमा दावी गरे । उनले हिसाव गर्दा बुझाउनुपर्ने देखिए तत्कालै बुझाउन पनि तयार रहेको स्पष्ट पारेका छन् ।
घरभाडा नपाएपछि सञ्चालक श्रेष्ठलाई भाडा दिन वा घर खाली गर्न घरधनी पशुपति दाहालले डेढ वर्षदेखि आग्रह गरेका थिए । पटक–पटक घर खाली गर्न भन्दा नटेरेपछि यो घटना भएको घरधनी स्वीकार गर्छन् । उनले आफूमाथि अन्याय भएपछि छिमेकीले सहयोग गरेको बताए । घरधनी दाहालका अनुसार श्रेष्ठले तीन वर्षदेखि भाडा दिएका छैनन् । उनले ७३ लाख ५० हजार भाडा पाउनुपर्ने बताए । घर नेपाल बैंकले लिलामी गर्ने भनेपछि आफूले होटल सञ्चालकलाई ताकेता गरेको उनी बताउँछन् ।

घरधनी र होटल संचालकबीच लामो समयदेखि विवाद चल्दै आएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डीएसपी दीपक भारतीले बताए । उनले १८ औं पटक छलफलमा बस्दा पनि विवाद नमिले जानकारी दिए ।‘ मेचीनगर नगरपालिका , मेची उद्योग वाणिज्य संघ , जिल्ला प्रशासन कार्यालयलगायतमा पटकपटक छलफल हुँदा पनि सहमति हुन सकेन’ उनले भने,‘ भाडामा बसेर व्यवस्थापन नगरेपछि विवाद भएको हो ।’उनले प्रहरी प्रशासन र जनप्रतिनिधिहरुले सहयोग नगरेको भनेर होटल संचालकले लगाएको आरोप गलत भएको बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्