झापा,फागुन १ । मेचीनगर नगरपालिका–१३ स्थित हातेमालो सामुदायिक वनले निचाझोडा सिमसार क्षेत्रलाई व्यवस्थित गरेर निर्माण गरेको तालमा पर्यटकीय आकर्षण बढेको छ ।

प्राकृतिक सिमसारलाई चारैतिरबाट बाँध बाँधेर सामुदायिक वनको बीचमा निर्माण गरिएको उक्त ताललाई ‘फेवाताल’ नामकरण गरिएको छ । सामुदायिक वनको तीन सय ९० हेक्टर वन क्षेत्रमध्ये सिमसार र खाली रहेको ३२ बिघा जग्गामा पर्यटकीय क्षेत्र निर्माण भएको हो । यसमध्ये २० बिघाभन्दा बढी क्षेत्रफलमा ताल छ ।

पर्यटकको मनोरञ्जनका लागि तालमा छवटा डुङ्गा सञ्चालन गरिएको छ । यस क्षेत्रमा आउने अधिकांश पर्यटकले डुङ्गा सयर गर्ने हुँदा सामुदायिक वनको आम्दानीको स्रोत बढेको वन समितिका अध्यक्ष चन्द्र सिग्देलले बताए । वरिपरि सालको जङ्गल भएको हुँदा तालको वातावरण प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ ।

यहाँ वनभोजसहित अवलोकन गर्ने आन्तरिक र विदेशी पर्यटक बढ्ने क्रम छ । यस वर्षको माघ महिनामा ५२ हजार आन्तरिक र विदेशी पर्यटकको आगमन भएको समितिले जनाएको छ । यस क्षेत्रलाई नमूना पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने योजनाअनुरुप विभिन्न संरचना निर्माण गरिएको उनले बताए । आन्तरिक पर्यटकको ओइरो लाग्न थालेपछि साना पसल र खाजाघरहरूको संख्या पनि बढेको छ । जसबाट स्थानीयको जीविकामा मद्दत पुगेको छ ।

पर्यटकलाई मनोरञ्जनका साथै तालबाट थप आम्दानी आन्तरिक आम्दानी बढाउने उद्देश्यले तालमा यस वर्ष एक लाख माछाको भुरा छाडिएको उनले जानकारी दिए । तालमा पालेको माछा आफैँ बल्छीले मारेर खरिद गर्न सक्ने र त्यहीँ पकाएर खान सक्ने सुविधा पर्यटकलाई उपलब्ध गराइएको हुँदा यस योजनामा पर्यटकको आकर्षण बढेको छ । “तालमा सयर गर्ने अधिकांश पर्यटकले फिसिङ गर्न पाए हुन्थ्यो भन्ने चाहना व्यक्त गरेपछि हामीले त्यसको व्यवस्था मिलाएका छौँ”, अध्यक्ष सिग्देलले भने, “फिसिङका लागि भारतको दार्जिलिङ र सिलिगुढीदेखि भारतीय पर्यटक आउन थालेका छन् ।”

शनिबार र बिदाका दिन यहाँ पर्यटक खचाखच हुन्छन् । पूर्वपश्चिम राजमार्गको चारआली चोकबाट तीन किलोमिटर दक्षिणमा रहेको यस क्षेत्रलाई अझ व्यवस्थित बनाउन र थप पूर्वाधार निर्माणमा लगानी भइरहेको समितिले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्