झापा,फागुन २ । सुनसरीको कोशीटप्पु वन्यजन्तु आरक्षले अढाई वर्षमा एक करोड पाँच लाख बढी राहत रकम वितरण गरेको छ । आरक्षले चालु आर्थिक वर्षको ६ महिना र आर्थिक वर्ष २०७८-०७९ मा आर्थिक वर्ष २०७९-०८० को गरी अढाई वर्षमा एक करोड चार लाखभन्दा बढी राहत रकम वितरण गरेको हो।

आरक्षको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्मको ६ महिनामा १९ लाख ८३ हजार रुपियाँ राहत तथा क्षतिपूर्ति वितरण सिफारिस गरेको हो । आरक्षका प्रमुख संरक्षण अधिकृत रमेशकुमार यादवका अनुसार नेपाल सरकारको मापदण्डले तोकेको आधारमा क्षतिको अवस्था मुचुलका हेरी चालु आ.व.मा २४५ जना पीडितलाई कोशीटप्पु वन्यजन्तु आरक्षले झण्डै २० लाख रुपियाँ राहत तथा क्षतिपूर्ति वितरण गरेको छ ।

त्यसैगरी आरक्षले आर्थिक वर्ष २०७८-०७९ मा ४५१ जना पीडितलाई ४८ लाख ८२ हजार २३४ रुपियाँ राहत तथा क्षतिपूर्ति वितरण गरेको आरक्षको राहत विवरणमा उल्लेख छ । त्यसैगरी २०७९-०८० मा ४३४ जना पीडितलाई ३६ लाख ९७ हजार ९५५ रुपियाँ राहत तथा क्षतिपूर्ति वितरण गरेको छ ।

यादवका अनुसार चालु आर्थिक वर्षको ६ महिनामा झण्डै २० लाख रुपियाँ राहत तथा क्षतिपूर्ति वितरण गरेको छ । कोशीटप्पु वन्यजन्तु आरक्षबाट निस्कने अर्ना, हाती सहितको जङ्गली जनावरले आरक्षको मध्यवर्ती क्षेत्रमा घरगोठ, अन्नभण्डार र बालीनालीमा गरेको क्षतिका आधारमा चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्मको ६ महिनामा १९ लाख ८३ हजार रुपियाँ राहत तथा क्षतिपूर्ति वितरण सिफारिस गरेको हो ।

चालु आवमा अन्नबाली क्षतिमा १७ लाख २४ हजार, घरगोठ क्षतिमा एक लाख १८ हजार ५०० रुपियाँ, अन्न भण्डारमा क्षति वापतको एक लाख ४० हजार ५०० रुपियाँ गरी कुल १९ लाख ८३ हजार रुपियाँ राहत तथा क्षतिपूर्ति सिफारिस गरेको यादवले जानकारी दिए ।

कोशीटप्पु वन्यजन्तु आरक्षबाट निस्कने जंगली भैँसी (अर्ना) र हात्तीको सबैभन्दा बढी आतङ्क छ । यही जङ्गली जनावरले तीन वर्षमा एक हजार १३० किसान तथा स्थानीयवासीको मध्यवर्ती क्षेत्रमा घरगोठ, अन्नभण्डार र बालीनालीमा क्षति गरेको तथ्याङ्क छ । कममा २००० देखि बढीमा मानवीय क्षति हुदाँ १० लाख रुपियाँसम्म राहत रकम वितरण गरेको जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्