झापा,फागुन २ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ) मा माघमा मात्रै चौबीस लाख रुपियाँ बढी भेटी रकम सङ्कलन भएको छ । पाथीभरा क्षेत्र विकास समितिका अनुसार माघ महिनामा मात्र उक्त रकम बराबर भेटी सङ्कलन भएको हो ।

पाथीभरा दर्शनमा आएका भक्तजनले चढाएका तथा दान गरेको भेटी रकम सङ्कलन गरिएको हो । पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक गरेको भेटी रकम विवरण अनुसार माघमा कुल २४ लाख एकहजार ५०० रुपियाँ सङ्कलन भएको छ ।

समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङका अनुसार पाथीभरामा सङ्कलित उक्त भेटी रकम जिल्लास्थित विभिन्न बैङ्कमा जम्मा गरिएको छ । भेटी रकम नेपाल बैङ्क लिमिटेड, सानिमा बैङ्क र एनएमबि बैङ्कमा रहेको समितिको खातामा जम्मा गरिएको हाङ्बाङले जानकारी दिए । यसअघि पुस महिनामा ११ लाख बढी अर्थात् ३५ लाख २९ हजार रुपियाँ भेटी सङ्कलन भएको थियो ।

समितिका अनुसार माघ मसान्तसम्ममा सङ्कलन भएको समेत पाथीभराको कुल भेटी रकम आठ करोड ९४ लाख ५४ हजार ४८ रुपियाँ भएको छ । पछिल्लो समय पाथीभरा क्षेत्र विकास समितिले प्रत्येक महिना भेटी रकम सार्वजनिक गर्दै आएको छ । पाथीभरामा नेपाली रुपियाँ मात्र नभई भारतीय रुपियाँसहित विभिन्न देशका मुद्रा भेटीबापत सङ्कलन हुँदै आएको समितिले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्