झापा,फागुन ३ । कोशी प्रदेश सरकारले चालू आर्थिक वर्षको बजेट १२ प्रतिशतले कम हुने संशोधित अनुमान गरेको छ । यद्यपि संघ सरकारले अनुदान कटौती हुनसक्ने बताएको कारण संशोधित अनुमान अझै कम हुनसक्ने प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालय स्रोतले जनाएको छ ।

‘अर्धवार्षिक समीक्षा भइसकेको छ । प्रतिवेदन प्रकाशन गर्न मात्रै बाँकी छ । प्रकाशनको चरणमा छ,’ अर्थमन्त्रालय स्रोतले भन्यो, ‘एक–दुई दिनमा प्रकाशित हुन्छ । मुख्यमन्त्रीज्यूले यसको सार्वजनिक गर्नुहुनेछ ।’

गत वर्षको यो महिनासम्मको खर्च, आम्दानीको अवस्था र चालू आर्थिक वर्षको आम्दानी र खर्चको अवस्था हेरेर सरकारले बजेटको संशोधित अनुमान गर्दछ । बजेट कन्ट्रोल गर्नका लागि पनि बजेटको समीक्षा आवश्यक छ । केन्द्र सरकारले १७ प्रतिशतले संघ सरकारको बजेटको संशोधित अनुमान गर्दै अर्धवार्षिक समीक्षा सार्वजनिक गरिसकेको छ ।

आर्थिक मामिला मन्त्रालयका शाखा अधिकृत विदुर पौडेलले प्रदेशमा संघको जस्तो स्रोतमा त्यति धेरै फरक नपर्ने बताए । ‘तर, संघले अनुदान कटौती हुनसक्ने जनाएको छ । चिठी नआइसकेको हुँदा अहिले नै संशोधित गर्ने कुरा भएन’ उनले भने, ‘संघको जस्तो धेरै तल अनुमान नहोला ।’ संघीय सरकारले भने झण्डै १५ प्रतिशत बजेटको आकार घटाएर संशोधित अनुमान सार्वजनिक गरेको छ ।

प्रदेशमा चालू आर्थिक वर्षका लागि प्रदेश सरकारले ३६ अर्ब ७४ करोड ३५ लाख १० हजारको बजेट ल्याएको थियो । जसमा चालूतर्फ १६ अर्ब ४२ करोड १७ लाख ९ हजार रुपैयाँ, पूँजीगततर्फ २० अर्ब ३८ करोड ५० लाख ८२ हजार र वित्तीय व्यवस्थातर्फ एक करोड रुपैयाँ छ ।

बजेटमध्ये हालसम्म चालूतर्फ ५ अर्ब ७० करोड ४७ लाख ५५ हजार २२१ रुपैयाँ अर्थात् ३४.७३ प्रतिशत खर्च भएको छ भने पूँजीगततर्फ ३ अर्ब ५२ करोड २१ लाख २७ हजार १०१ रुपैयाँ अर्थात १७.२७ प्रतिशत मात्र बजेट खर्च भएको छ । वित्तीय खर्च नदेखिएको प्रदेशमा हालसम्म जम्मा खर्च ९ अर्ब २२ करोड ६८ लाख ८२ हजार ३२२ रुपैयाँ अर्थात् २५ प्रतिशत मात्रै भएको छ ।

यता, प्रदेशमा आम्दानी भने हालसम्म १६ अर्ब ५९ करोड ३० लाख ४१ हजार ४९८ रुपैयाँ भएको छ । प्रदेश सञ्चित कोषमा अहिले पनि ७ अर्ब ३६ करोड ६१ लाख ५९ हजार १७६ रुपैयाँ रहेको छ ।

प्रदेशले संघ सरकारबाट हालसम्म १३ अर्ब ५६ करोड ८० लाख २८ हजार १५३ रुपैयाँ प्राप्त गर्दा आन्तरिक राजस्वबाट ३ अर्ब २ करोड ५० लाख १३ हजार ३४५ रुपैयाँ प्राप्त गरिसकेको छ । प्रदेश सरकारले आम्दानी भने ४५ प्रतिशत गरिसकेको छ ।

प्रदेश सरकारले आन्तरिक राजस्वबाट ४ अर्ब ५७ करोड ७८ लाख ५० हजार आम्दानीको लक्ष्य राखेको छ । यस्तै, राजस्व बाँडफाँटबाट ११ अर्ब ६४ करोड ८१ लाख, संघबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट ८ अर्ब ७८ करोड ३८ लाख, सशर्त अनुदानबाट ५ अर्ब ८४ करोड ३२ लाख, समपुरक अनुदानबाट ७३ करोड र विशेष अनुदानबाट ७६ करोड आम्दानी गर्ने अनुमान छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्