शिवसताक्षी,माघ ४ । शिवसताक्षी नगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयमा विद्युतीय हाजिरीको व्यवस्था गरेको छ ।

मेगाहाङ थोप्रा (रोशन) ले ११ नम्बर वडास्थित राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयमा विद्युतीय हाजिरी (ई– हाजिरी) को एक कार्यक्रमका बीच शुभारम्भ गरेका हुन् ।

शिवसताक्षी नगरपालिकामा ३५ वटा सामुदायिक विद्यालय छन् । ३५ वटै विद्यालयमा शुक्रबारदेखि एकैपटक विद्युतीय हाजिरी सुरु गरिएको शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख नगर शिक्षा अधिकारी छवि ढकालले बताए । उनका अनुसार शिक्षकको अनियमित रूपमा हुने उपस्थिति कम गरी गुणस्तरीय र प्रभावकारी शिक्षा प्रदान गर्न ई–हाजिरी प्रणाली सुरुवात गरिएको हो ।
यसअघि पनि कतिपय सामुदायिक विद्यालयहरूमा ई– हाजिरी सुरु गरिएको थियो । तर, त्यो निष्प्रभावी भएको राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयका एक शिक्षकले बताए । तत्कालीन उपसचिव तथा शिक्षा अधिकारी तोया रेग्मीले नगरका केही सामुदायिक विद्यालयहरूमा ई– हाजिरीको व्यवस्था गरेका थिए।

ई–हाजिरी सुरु भएपछि विद्यालयमा शिक्षक–शिक्षिका, कर्मचारी नियमित विद्यालय आउने शिक्षा अधिकारी ढकालले बताए ।
करिब ९ लाखको लागतमा नगरका सामुदायिक विद्यालयहरूमा ई–हाजिरी जडान गरिएको हो । कुन विद्यालयमा को शिक्षक वा कर्मचारी अनुपस्थित भए भन्ने कुराको जानकारी नगरको शिक्षा शाखामा हुने ढकालले बताए । ’अब कसैले पनि विद्यार्थीको भविष्य र कामप्रति छलछाम गर्न सक्दैनन्,’ नगर शिक्षा अधिकारी ढकालले भने ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्