झापा, फागुन ४ । जंगली हात्तीले झापाको अर्जुनधारामा फेरि घर भत्काएर क्षति गरेको छ ।

आज बिहान ४ः३० बजेको समयमा अर्जुनधारा वडा नं. १ सातकटेरी टोलमा जंगली हात्तीले दुईवटा घर भत्काएको हो । हात्तीले जगदीश सारु मगरको टिनको छाना, बाँसको बेरा भएको घरको दक्षिणपट्टीको बरण्डाको बेरा भत्काई भकारीमा रहेको अन्दाजी ४० मन धान खाई अन्दाजी ७० हजार बराबरको क्षति गरेको छ ।

त्यस्तै सोही ठाउँका नरबहादुर सोराली मगरको टिनको छाना, टिनको बेरा भएको भान्सा घरको पश्चिमपट्टीको बेरा भत्काई भान्सा कोठामा रहेको अन्दाजी १५ मन धान खाई ४५ हजार बराबरको क्षति गरेको प्रहरीले जनाएको छ ।

हात्तीले हिजो बिहान पनि अर्जुनधारा १ मै दुईवटा घर भत्काएको थियो । हात्तीले अर्जुनधारा १ मदनपुर बस्ने बलबहादुर तामाङको बाँसको टाटीले बेरेको, जस्ताको छानो भएको एकतले घर पूर्ण रुपमा भत्काई, घरभित्र रहेका धान, चामल खाई लत्ताकपडा, भाडावर्तन गरी ३ लाख बराबरको क्षति गरेको थियो ।

त्यस्तै अर्जुनधारा १ स्थित सिस्ने बस्ने छिरिङ तामाङको टिनको छाना भएको बाँसको टाँटी बेराले बनेको घरको पूर्वपट्टीको बाँसको बेरा भएको टाटी भत्काई कोठाभित्र रहेको धान , चामल खाई २ लाख ३१ हजार ५०० बराबरको क्षति गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बहुवन र दहीझोडा वनबाट आउने हात्तीले अर्जुनधारामा लगातार क्षति गर्दै आएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्