शिवसताक्षी, फागुन ४ । झापा जिल्लास्तरीय अन्तरपालिका कर्मचारी फुटबल प्रतियोगिता शिवसताक्षीको झिलझिलेमा आजदेखि सुरु भएको छ ।

प्रतियोगिताको उद्घाटन खेलमा शिवसताक्षी नगरपालिका विजयी भएको छ । अर्जुनधारा नगरपालिकालाई २–० को गोल अन्तरले हराउँदै आयोजक शिवसताक्षी विजयी बनेको हो ।

खेलको ८ औ र ४८ औं मिनेटमा शिवसताक्षीका जर्सी नं. १४ का सचिन श्रेष्ठले गोल गरेका थिए । खेल अवधिभर अर्जुनधाराका तर्फबाट कुनै पनि गोल हुन सकेन । खेलको म्यान आफ दी म्याच शिवसताक्षीका सचिन श्रेष्ठ घोषित भए ।

त्यस्तै दोस्रो खेलमा बुद्धशान्ति गाउँपालिकालाई हराउँदै हल्दीवारी गाउँपालिका विजयी भएको छ । बुद्धशान्तिलाई ३–० गोल अन्तरले हराउँदै हल्दीवारी विजयी भएको हो । हल्दीवारीका तर्फबाट जर्सी नं १५ का शान्तिराम राईले २१ औं मिनेट र जर्सी नं. १० का चेतन न्यौपानेले २२ औं मिनेट र जर्सी नं. १३ का अमिन मेचेले ४० औं मिनेटमा गोल गर्दै टिमलाई जीत दिलाएका हुन् । खेलको म्यान अफ दी म्याच हल्दीवारीका शान्तिराम राई घोषित भए ।

त्यस्त आजै भएको अन्तिम खेलमा कचनकवल गाउँपालिका विजयी भएको छ । गौरीगञ्ज गाउँपालिकालाई टाइब्रेकरमा ५– ४ गोल अन्तरले हराउँदै कचनकवल गाउँपालिका विजयी भएको हो । खेलको निर्धारित समयमा दुवै टिमबाट गोल हुन नसकेपछि खेल टाइबे्रकरमा धकेलिएको थियो । खेलको म्यान अफ दी म्याच कचनकवलका प्रदीप कार्की घोषित भए । म्यान अफ दी म्याच घोषित भएका सबै खेलाडीले जनही नगद २ हजारसहित ट्रफी प्राप्त गरे ।

शिवसताक्षी नगरपालिकाका प्रमुख प्रशासकीय अमृतबहादुर राईको अध्यक्षतामा भएको प्रतियोगिताको उद्घाटन शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्कीले गरेकी थिइन् । उद्घाटन कार्यक्रमको सञ्चालन शिवसताक्षी नगरपालिका शिक्षा शाखा प्रमुख छविलाल ढकालले गरेका थिए । प्रतियोगितामा अर्जुनधारा नगरपालिकाका नगर प्रमुख बलदेवसिंह गोम्देन, कचनकवल गाउँपालिका उपाध्यक्ष नवराज भट्टराई, गौरीगञ्ज गाउँपालिकाकी अध्यक्ष फुलवती राजवंशीलगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो । प्रतियोगिताको विजेता टिमले नगद ७० हजार र उपविजेता टिमले नगद ४० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

भोलि झापा गाउँपालिका र कमल गाउँपालिका, भद्रपुर नगरपालिका र दमक नगरपालिका, मेचीनगर नगरपालिका र बिर्तामोड नगरपालिका, कनकाई नगरपालिका र गौरादह नगरपालिकाबीच खेल हुने आयोजक शिवसताक्षी नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्