झापा,फागुन ५ । बुद्धशान्ति गाउँपालिका–२ गोपालडाँडाकी २८ वर्षीया माया रम्तेलकी पाँच वर्षीया छोरी वर्षाले अनाहकमा ज्यान गुमाएकी छन् ।

मायाले छोरी वर्षालाई शरीरमा बाँधेर आत्मदाह गर्दा छोरीको मृत्यु भएको हो । आत्मदाह प्रयासमा आमा गम्भीर घाइते भएकी छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ढुण्डीराज गिरीका अनुसार शुक्रबार राति ८ः३० बजेतिर मायाले आफ्नै शरीरमा पेट्रोल खन्याइ आगो लगाएकी थिइन् । घटनामा दुवै जना गम्भीर घाइते भएकाले उपचारका लागि बीएन्डसी अस्पतालमा भर्ना गरिएको थियो ।

आज बिहान ९ बजेतिर छोरी वर्षाको मृत्यु भएको र आमा मायाको अवस्था चिन्ताजनक रहेको गिरीले जानकारी दिए । मायाको शरीरको अधिकांश भाग आगोले जलेको र घटनास्थल नजिकै उनको ‘सुसाइट नोट’ फेला परेको उनले बताए ।
प्रहरीका अनुसार उक्त नोटमा मायाले उनका पति राजन विक परस्त्रीसँग सम्बन्धमा रहेका कारण बाध्य भई आत्मदाहको निर्णय लिनुपरेको उल्लेख गरेकी छन् । प्रहरीले ज्याला मजदुरी काम गर्दै आएका मायाका पति राजनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको गिरीले बताए ।

पति राजन काममा गएको र घरमा ८१ वर्षीया सासूआमा सुन्तलीमाया खाती मात्र रहेको अवस्थामा मायाले छोरीलाई सलले आफ्नो शरीरमा बाँधेर आत्मदाह प्रयास गरेकी थिइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्