शिवसताक्षी,फागुन ५ । झापाको शिवसताक्षीमा जारी झापा जिल्लास्तरीय अन्तरपालिका कर्मचारी फुटबल प्रतियोगिताको आज भएका ४ खेलमा कमल गाउँपालिका, भद्रपुर नगरपालिका, बिर्तामोड नगरपालिका र कनकाई नगरपालिका विजयी भएका छन् ।


पहिलो खेलमा झापा गाउँपालिकालाई हराउँदै कमल गाउँपालिका विजयी भएको हो । झापा गाउँपालिकालाई ३–० गोल अन्तरले हराउँदै कमल गाउँपालिका विजयी भएको आयोजक शिवसताक्षी नगरपालिकाले जनाएको छ । खेलको ३० औं मिनेटमा कमल गाउँपालिकाका तर्फबाट दिपेन्द्र लामिछानेले पहिलो गोल गरे । खेलको ३७ औं र ४२ औं मिनेटमा कमलका मणिकुमार लिम्बूले दुई गोल गरेपछि झापा गाउँपालिकासँग ३–० को गोल अन्तर बनाउन सफल भयो । खेलको म्यान अफ दी म्याच कमलका मणिकुमार लिम्बू घोषित भए ।

त्यसैगरी दोस्रो खेलमा दमक नगरपालिकालाई ३– ० गोल अन्तरले हराउँदै भद्रपुर नगरपालिका विजयी भएको छ । भद्रपुरका तर्फबाट चन्द्र प्रधान, विनोद श्रेष्ठ र अरिफ अलीले गोल गरेका थिए । खेलको म्यान अफ दी म्याच चन्द्र प्रधान घोषित भए । आजै भएको तेस्रो खेलमा मेचीनगर नगरपालिकालाई हराउँदै बिर्तामोड नगरपालिका विजयी भएको छ । मेचीनगरलाई ४–१ गोल अन्तरले हराउँदै बिर्तामोड विजयी भएको हो । खेलमा बिर्तामोडका तर्फबाट चुनु सेरेङ, रविन मुर्मूले एक–एक गोल गरे भने राम बुढाथोकी दुई गोल गरेका थिए । मेचीनगरको तर्फबाट रोजित अलीले सान्त्वना गोल फर्काए । खेलको म्यान अफ दी म्याच बिर्तामोडका राम बुढाथोकी घोषित भए ।

आजको चौथो खेल कनकाई नगरपालिका र गौरादह नगरपालिकाबीच हुने तय भएपनि गौरादह नगरपालिका अनुपस्थित भएपछि कनकाई नगरपालिका अर्को चरणमा स्वतः प्रवेश गरेको छ । गौरादह नगरपालिका निर्धारित समयसम्म नआएपछि कनकाई नगरपालिकालाई वाकओभर दिइएको आयोजक समितिका संयोजक प्रकाश चौधरीले जानकारी दिए । आजका तीन खेलमा म्याद अफ दी म्याच घोषित खेलाडीहरुले जनही नगद २ हजारसहित ट्रफी प्राप्त गरेका छन् । प्रतियोगिताको क्वाटर फाइनल खेल फागुन ७ गते हुने आयोजक शिवसताक्षी नगरपालिकाले जनाएको छ । जसमा शिवसताक्षी र भद्रपुर, हल्दीवारी र कचनकवल, बिर्तामोड र कनकाई, कमल र बाह्रदशीबीच हुनेछ ।

प्रतियोगिताको विजेता टिमले नगद रु ७० हजार र उपविजेता टिमले नगद ४० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्