झापा, फागुन १४ । बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनले स्थानीय तहकै निर्वाचनको झल्को दिएको छ ।

उद्योगी व्यवसायीहरुलाई भन्दा राजनीतिक दलका नेता कार्यकर्ताहरुलाई चुनाव लागेको देखियो । आ–आफ्ना दल र प्यानलका उम्मेदवारलाई जिताउन जिल्लाका नेतासंगै संघीय र प्रदेश सांसदसमेत उपस्थित थिए । पाँच दलीय गठबन्धन स्वतन्त्र व्यावसायिक प्यानलको निर्वाचन परिचालन समितिको संयोजक नै प्रदेश सांसद एकराज कार्की हुन् । उनी यस निर्वाचनमा विगत एक महिनादेखि खटिएका छन् । त्यस्तै एमालेबाट निर्वाचित बिर्तामोड नगरपालिकाका सबै जनप्रतिनिधिहरु निर्वाचनमा परिचालित थिए ।

उता नेपाली कांग्रेस र एकीकृत समाजवादीको लोकतान्त्रिक प्यानललाई जिताउन पूर्व मुख्यमन्त्री उद्धव थापा , जिल्ला सभापति देउकुमार थेबेलगायतका नेताहरु दिनभरि निर्वाचनमा खटिएका थिए । बिर्तामोड उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा ४ हजार ९५ मत खसेको छ । वाणिज्य संघमा ५ हजार ६ सय ७३ रहेकोमा त्यति मत खसेको हो । जुन ७२ प्रतिशत हो । बेलुकी ५ बजेसम्म मत खसाल्न मतदानस्थलमा प्रवेश गर्न दिइएको थियो । आज राति ११ बजेदेखि मतगणना शुरु गरिने निर्वाचन समितिले जनाएको छ ।

वाणिज्य संघको निर्वाचनमा दुईवटा प्यानल प्रतिष्पर्धामा उत्रिएका छन् । एकातिर नेपाली कांग्रेस र एकीकृत समाजवादीको लोकतान्त्रिक व्यावसायिक प्यानल छ भने अर्कातिर नेकपा एमाले , राप्रपा , माओवादी केन्द्र , राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टी सम्मिलित पाँच दलको स्वतन्त्र व्यावसायिक प्यानल रहेको छ । अध्यक्ष पदका लागि लोकतान्त्रिक प्यानलबाट राजु न्यौपाने र स्वतन्त्र प्यानलबाट अर्जुनकुमार मैनालीले अध्यक्षमा उम्मेदवारी दिएका छन् । न्यौपानेले नेतृत्व गरेको लोकतान्त्रिक प्यानलबाट वरिष्ठ उपाध्यक्षमा सञ्जीव घिमिरे, उद्योग उपाध्यक्षमा विशाल थापा, वाणिज्य उपाध्यक्षमा जीवनकुमार खड्का, जनसम्पर्क उपाध्यक्षमा राधिका चुडाल र महासचिव पदमा कुशल खतिवडा उम्मेदवार रहेका छन् । त्यस्तै, उद्योग सचिवमा पुकार बराल, वाणिज्य सचिवमा राजकुमार साह, कोषाध्यक्षमा दीपक मित्तल र सहकोषाध्यक्षमा तिलोत्तमा खत्री उम्मेदवार छन् ।

त्यस्तै खुला सदस्यमा योगेश शर्मा भट्टराई, दिनेश श्रेष्ठ, अनन्तलाल महतो, रमेश घिमिरे, डिल्लीराम कोइराला, अरुण जैन, श्यामकृष्ण पाठक, महिला सदस्यमा सुशीला बस्नेत, निशा साह गुप्ता उम्मेदवार रहेका छन् ।

त्यस्तै मैनाली नेतृत्वको स्वतन्त्र प्यानलबाट वरिष्ठ उपाध्यक्षमा राजकुमार घिमिरे (राजु), वाणिज्य उपाध्यक्षमा गंगा मैनाली, उद्योग उपाध्यक्षमा ओमप्रकाश श्रेष्ठ, जनसम्पर्क उपाध्यक्षमा गोमा भट्टराई, महासचिवमा कृष्ण पौडेल उम्मेदवार रहेका छन् ।

त्यस्तै, उद्योग सचिवमा विसन लिम्बू, वाणिज्य सचिवमा कृष्ण चापागाँई, कोषाध्यक्षमा युवराज निरौला र सहकोषाध्यक्षमा निशा कर्ण सोनी उम्मेदवार रहेका छन् । खुला सदस्यहरुमा शत्रुधन रौनियार, कृष्ण बजगाँईं, केदार खनाल, सोहनलाल राजवंशी, राकेशकुमार सिंह, रीता चौधरी, अमिर खान, महिला सदस्यमा चन्द्रा भट्टराई र सुष्मा उप्रेतीको उम्मेदवारी रहेको छ । युवा व्यवसायी समिल राईले खुला सदस्य पदमा स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्