झापा,फागुन १६ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरी कार्यालयले बुधबार मोरङको कानेपोखरीमा स्थानीय तहको सुशासन प्रवर्द्धन सम्बन्धी कार्यक्रमको आयोजना गरेको छ ।

स्थानीय जनएकता बचत तथा ऋण सहकारी संस्था लि.को सभाहलमा भएको कार्यक्रममा बोल्दै आयोगका इटहरी कार्यालय प्रमुख सिनियर डिभिजन इन्जिनियर धीर फडेराले गत वर्ष इटहरी कार्यालयमा परेका उजुरीमध्ये ७० प्रतिशत उजुरीको फस्र्यौट भएको जनाए। आगामी वर्ष ८० प्रतिशत फस्र्यौटको लक्ष्य रहेको बताउँदै उनले २० हजार उजुरीमा अनुसन्धान पछि १६२ वटा उजुरी विरुद्ध मात्र मुद्दा दर्ता भएको बताए ।

यस्तै, चालु आवको फागुन १५ सम्ममा १६ हजार भन्दा बढी उजुरी दर्ता भइसकेकोमा एक सय दुई वटा मात्र मुद्धा दर्ता भएको छ । सरकारको उजुरी लिने कार्यालय भएकोले उजुरी लिन्न भन्न मिल्दैन । तर कतिपय उजुरी दुख दिने नियतले गरिएका हुन्छन् । उनले दुख दिने नियतले उजुरी दिएको प्रमाणित भए त्यसले क्षतिपुर्ति पाउने समेत व्यवस्था भएकोले अख्तियारमा उजुरी पर्दैमा डराउनु नहुने बताए। उनले भने,प्रमाण सहित उजुरी दिए अनुसन्धान प्रक्रिया पनि छिटो अघि बढ्छ । स्ट्रिङ अपरेसनका लागि आयोग जतिबेलै तयार रहेको बताउँदै उनले जहाँ भ्रष्टाचार त्यहाँ खबर गर्न आग्रह गरे ।

अनुसन्धानको प्रक्रिया लामो र झन्झटिलो भएपनि अख्तियारले दोषी देखिएका कसैलाई पनि नछोड्ने उनको भनाइ छ । गत वर्ष इटहरी कार्यलयको कार्यक्षेत्र भित्रका १४ जिल्ला (मधेस प्रदेशका सप्तरी र सिराहा सहित) २ हजार ४०८ दर्ता भएका थिए । जसमध्ये आव २०७९–०८० का १ हजार ४३४ वटा र अघिल्लो आवबाट जिम्मेवारी सरेर आएका ९७४ वटा उजुरी थिए । तीमध्ये १ हजार ६६४ वटा मुद्धा फस्र्यौट भइसकेका छन् भने ७४४ वटा मुद्धा फस्र्यौट हुन बाँकी छन् । इटहरी कार्यालय अन्तर्गत सबैभन्दा बढी उजुरी सप्तरीबाट ६ सय वटा र सुनसरीबाट पाँच सय २ वटा छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्