लक्ष्मी उप्रेती
मेचीनगर, फागुन १७ । झापाको मेचीनगरमा बिहीवारबाट झापामै पहिलो पटक दुईदिने ‘इञ्जिनियरिङ एक्जिवेशन’ शुरु भएको छ ।

मेचीनगर–१० स्थित धुलाबारी क्याम्पस परिसरमा मेचीनगर पोलिटेक्निक इन्स्टिच्युट (प्राविधिक शिक्षालय) ले ‘इञ्जिनियरिङ एक्जिवेशन’ शुरु गरेको हो । विद्यार्थीले पढेका, सिकेका र जानेका कुरालाई प्रदर्शनीमा राखिएको छ ।

‘इन्जिनियरिङ एक्जिवेशन’ शुक्रबारसम्म चल्ने छ । आयोजकले यसलाई कोशी प्रदेशकै पहिलो भएको दाबी गरेको छ ।
‘इञ्जिनियरिङ एक्जिवेशन’लाई प्रमुख अतिथि मेचीनगर नगरपालिकाका नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले उद्घाटन गरेका थिए । अब नेपाली समाज र हरेक शैक्षिक संस्थाहरुले परम्परागत शिक्षा पद्धतिलाई संशोधन गर्दै समयानुसार बनाउँदै लैजानुपर्ने उनले बताए ।निःशुल्क शिक्षा हरेक नागरिकको नैसर्गिक अधिकार भएकाले यस्तो अधिकारबाट कसैलाई पनि बञ्चित गराउन नहुने भन्दै नगर प्रमुख बुढाथोकीले स्थानीय सरकारको पहिलो प्राथमिकता प्राविधिक शिक्षा रहेको समेत स्पष्ट पारे ।

अब हरेक नागरिकलाई दक्ष र योग्य बनाउन प्राविधिक शिक्षाको आवश्यकता औल्याउँदै उनले यस क्षेत्रको गहनाको रुपमा रहेको यो शिक्षालयले परम्परागत शिक्षाभन्दा बैकल्पिक शिक्षा पद्धतिलाई अघि बढाएकोमा खुशी प्रकट गरे ‘प्राविधिक शिक्षा आजको आवश्यकता हो’ उनले भने,‘आधुनिक शिक्षाको मन्दिरसमेत भएको यो शिक्षालयको मुख्यः आधार विद्यार्थी भएकाले हरेक विद्यार्थीहरुको आकर्षणको बिन्दु बनाउन समेत सबैमा आग्रह गर्दछु ।’

उद्घाटन सत्रका विशिष्ट अतिथि नगर उपप्रमुख मीना पोखरेल उप्रेतीले नेपालको संविधानले गुणस्तरीय शिक्षा र स्वास्थ्य हरेक नागरिकको नैसर्गिक अधिकारको रुपमा स्पष्ट उल्लेख गरेकाले हरेक बालबालिका शिक्षाको उज्यालोबाट बञ्चित हुन नहुने स्पष्ट पारिन् । शिक्षा स्थानीय सरकारको पहिलो प्राथमिकतामा रहेकोले यसका लागि स्थानीय सरकार लागिपरेको जानकारी गराइन् । स्थानीय सरकारले सीमित स्रोत र साधनका बावजुद शिक्षालाई प्राथमिकतामा राखेर अघि बढेको बताउँदै उनले शिक्षा, स्वास्थ्य, कृषिलगायतका क्षेत्र स्थानीय सरकारको प्राथमिकतामा रहेको धारणा राखिन् ।

गुणस्तरीय एवम् सर्वसुलभ उच्च शिक्षा विद्यार्थीको पहिलो रोजाई रहेको भन्दै उनले हरेक शैक्षिक संस्थाले गुणस्तरीय शिक्षामा लाग्नुपर्ने बताइन् । उत्पादन एवम् उद्यमशिलता अभिबृद्घिमा टेवा पुगोस भनेर शिक्षालाई सीपसँग जोड्ने अभियान अब हरेक शैक्षिक संस्थाले शुरु गर्ने स्पष्ट पारिन् । ‘उद्यमशिलता, उत्पादन र रोजगारी बृद्घिको लागि शिक्षलाई सीपसँग जोड्नुपर्छ’ उपप्रमुख उप्रेतीले प्रश्न गर्दै भनिन् ,‘हामीले पढेका धेरै ज्ञानको जीवनमा उपयोग नै आउँदैनन् , व्यवहारमा प्रयोग हँुदैन भने डिग्री गरेपनि त्यस्तो शिक्षाको महत्व के ?’

मेचीनगरका निवर्तमान नगर प्रमुख विमल आचार्यले हरेक शैक्षिक संस्थाले अभिभावकहरुलाई सँगसँगै लिएर हिड्नुपर्ने बताए । विगतदेखि नै नगरभित्रका शैक्षिक संस्थाहरुको अवस्था दयनीय रहेको भन्दै यसमा स्थानीय सरकार, अभिभावक तथा शिक्षासेवीदेखि समाजसेवीहरु सक्रियरुपमा लागेर चलायमान बनाउनपर्नेमा उनले जोड दिए ।‘अब हरेक अभिभावकहरु शैक्षिक संस्थामा जोडिनुपर्छ, समन्वय गर्नुपर्छ’उनले भने, ‘अनि मात्र हरेक शिक्षा संस्थाले गुणस्तर शिक्षा प्रदान गर्न सक्छन् ।’
इन्स्टिच्युटका प्रिन्सिपल इञ्जिनियर रुद्र मैनालीले अध्यक्षता गर्दै कार्यक्रमको औचित्यमाथि प्रकाश र सहभागी सबैलाई स्वागत गरेका थिए । उनले विद्यार्थीले आफैले सिकेको, पढेको, र जानेको सीपलाई प्रदर्शनीमा राखेको जानकारी दिए । मेचीनगरलाई प्राविधिक शिक्षालयको हव बनाउन यो प्रदर्शनीले ठुलो महत्व राख्ने उनको भनाई थियो ।

प्रशिक्षक दामोदर ढुंगेलले सञ्चालन गरेको कार्यक्रममा धुलावारी क्याम्पस सञ्चालक समितिका अध्यक्ष भीम खवास, क्याम्पस प्रमुख पुष्पराज पौडेललगायतले बोलेका थिए । ‘इञ्जिनियरिङ एक्जिवेशन’ मा आइटी विभागबाट सातवटा, आर्किटेक्चर विभागबाट एघारवटा, सिभिल विभागबाट आठवटा गरी कुल २६ वटा विद्यार्थीले बनाएका संरचना प्रदर्शनीमा राखिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्