झापा, फागुन १८ । नेपाली महिला राष्ट्रिय टोलीको पहिलो अन्तर्राष्ट्रिय उपाधि जित्ने सपना पूरा भएन ।

नेपाल वाफ वुमन्स च्याम्पियनसिप फुटबलको गएराति सम्पन्न फाइनलमा तीनपल्टको डिफेन्डिङ च्याम्पियन जोर्डनको हातबाट टाइब्रेकरमा ५–३ ले पराजित रह्यो । साउदी अरेबियाको जेद्दामा भएको खेलको निर्धारित समय २–२ को बराबरीमा टुंगिएपछि प्रतिस्पर्धा सिधै पेनाल्टी सुटआउटमा गएको थियो । त्यसमा जोर्डनका लागि रोजबहानले निर्णायक गोल गरिन् ।

यससँगै जोर्डन कीर्तिमान छैटौंपल्ट उपाधि जित्न सफल रह्यो । टाइब्रेकरमा जोर्डनका सबै पाँच खेलाडीले गोल गरेका थिए । नेपालबाट भने अमृता जैसी गोल गर्न चुकिन् । उनको प्रहार जोर्डनको गोलरक्षक स्रेरिन आइसलबेले रोकेकी थिइन् । जोर्डनका लागि अयाह अल मजाली, मायसा जब्राह र नूर जोकासले गोल गरे । नेपालका तर्फबाट भने गीता राना, दीपा शाही र हीरा भुजेलले गोल गरेका थिए । जोर्डन फिफा वरीयतामा नेपालभन्दा माथिको टिम हो ।

जोर्डनको वरीयता ७४ रहेको छ भने नेपाल १०५ औं स्थानमा छ  । निर्धारित समयको खेलमा नेपालले सुरुमा अग्रता लिएर पनि त्यसलाई कायम राख्न सकेन । खेलको अन्त्यतिर पछाडि रहेको स्थितिमा पनि नेपाल खेलमा फर्कन सफल रहेको थियो । नेपालले ३० औं मिनेटमा सविता रानामगरको गोलले अग्रता लिएको थियो । रेखा पौडेलको पासमा उनको प्रहार डिफ्लेक्ट हुँदै गोलमा परिणत भएको थियो ।

नेपालका लागि उनको यो दोस्रो गोल हो । दोस्रो हाफमा जोर्डनले दुई गोल फर्काएको थियो । लारा परेराले ७४ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याइन् । लामो पासलाई उनले पोस्टको दिशा दिइन् । सारा अबुसाराले ८९ औं मिनेटमा गोल गर्दै जोर्डनलाई पहिलोपल्ट अग्रता दिलाइन् । उनले पेनाल्टी एरियाभित्र गोल गरेकी हुन् । तर, नेपालले दोस्रो हाफको इन्ज्युरी समयको दोस्रो मिनेटमा पेनाल्टी अवसर पाएको थियो । त्यसमा गीता रानाले गोल गरिन् । यो नेपालका लागि उनको दोस्रो गोल रह्यो । मेसा जेब्राहले पेनाल्टी एरियामा बल ह्यान्ड गरेपछि नेपालले पेनाल्टी पाएको थियो । खेलको पहिलो हाफ नेपालले पूर्णतः आफ्नो नियन्त्रणमा राखे पनि त्यसलाई अन्त्यसम्म कायम राख्न सकेन । खेलको अन्त्यतिर जोर्डनले बलियो चुनौती पेस गरेको थियो र नेपाल दबाबमा आयो ।
नेपालका लागि सावित्रा भण्डारीको अनुपस्थिति महँगो साबित भयो । एन अभान्टा ग्वेनगाम्पाका लागि खेल्न उनी फ्रान्स गएकी हुन् । तर उनी ९ गोलसहित प्रतियोगिताको सर्वाधिक गोलकर्ता रहिन् । नेपाल भने लगातार ११ औं अन्तर्राष्ट्रिय फाइनलमा चुकेको छ । नेपाली महिला राष्ट्रिय टिम अहिलेसम्म खेलेका सबै फाइनलमा पराजित रह्यो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्