झापा,फागुन २९ । सप्तकोशी नदीमा बाढीसँगै आउने पानी, बालुवा र ढुङ्गामुढाले पुरेपछि हजारौँ नागरिकको घरबार र सपना पनि बगाएको छ । सबैभन्दा ठुलो क्षेत्रमा फैलिएर बग्ने सप्तकोशीमा आएको बाढीको डुबान र कटानमा परेर चार हजारभन्दा बढी घरपरिवार विस्थापित बनेका छन् । पाँच दशकदेखि विस्थापित कोशीपीडितले अहिलेसम्म पनि मुआब्जा पाउन सकेका छैनन् ।

वराहक्षेत्र मन्दिरदेखि १० किलोमिटर दक्षिण चतराबाट समथर भूभागमा फैलिएको सप्तकोशी नदीले तराईको फाँटमा आइपुगेपछि थुप्रै मानव बस्तीमा उठिबास भएको छ । २०२२ सालयता हजारौँ परिवार कोशीको डुबान र कटानमा परी विस्थापित बनेका छन् ।

कोशी किनारको चतराका ६५ वर्षीय प्रह्लाद थापाले कोशीले बगाएको जग्गाको मुआब्जा पाउने आशामा बर्सेनि बगेको जग्गाको कर राज्यलाई तिरिरहेका छन् । उनको २५ बिघा जग्गा २०२२ सालमै बगेको हो । उनी जस्तै चार हजारभन्दा बढी घरधुरी आफ्नो थातथलो र बगेको जग्गाको मुआब्जा पाउने आशामा अहिले पनि सङ्घर्ष गरिरहेका छन् ।

कोशी कटानका कारण सुनसरीका वराहक्षेत्र, महेन्द्रनगर, प्रकाशपुर, मधुवन, पश्चिम कुसाहा, श्रीपुर जब्दी र हरिपुरका सयौँ घरपरिवार पीडित बनेका छन् । पीडितले कमाइखाने जमिन, बाली, घर र चौपायाको क्षति भयो ।

कोशीपीडित सङ्घर्ष समितिका अध्यक्ष लालबहादुर लिम्बू (जोनी) ले नदीको डुबान र कटानमा परी २०२२ देखि २०४६ सम्म पीडितको गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य जस्ता आधारभूत अधिकार हनन भएको बताए ।

कोशीको डुबान र कटानमा परेका साबिकका वराहक्षेत्र, महेन्द्रनगर, प्रकाशपुर, मधुवन गाविसका पीडितको चार हजार ७४ बिघा जमिन र यसमा आश्रित रहेका हजारौँ घरपरिवार आफ्नो क्षतिपूर्तिसहितको मुआब्जा पाउनुपर्ने माग राखेर पाँच दशकदेखि आन्दोलनरत छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्