झापा,फागुन २९ । लण्डनस्थित नेपाली दूतावासमा एक समारोहबिच २६१औँ नेपाली सेना दिवस मनाइएको छ । सो अवसरमा संयुक्त अधिराज्य(बेलायत) का सेनाका लेफ्टिनेन्ट जनरल रिचार्ड वार्डलले नेपाल र बेलायतबिच ऐतिहासिक सम्बन्ध रहेको चर्चा गर्दै नेपाल र बेलायती सेनाबिच आपसी हितका विषयमा विगतदेखि नै सहकार्य हुँदै आएको स्मरण गरे ।

ब्रिगेड अफ गोर्खाजका कर्णेल कमाण्डेन्ट तथा गोर्खा वेलफेयर ट्रष्टका अध्यक्षसमेत रहेका वार्डलले बेलायत सेनाले नेपाली सेनालाई सहयोग गर्दै आएको बताए आगामी दिनमा पनि निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।

नेपाल र बेलायतबिच मैत्री सन्धी एक सय वर्ष पूरा भएको चर्चा गर्दै बेलायत र नेपालका उच्च सैन्य अधिकृतहरुको भ्रमण आदानप्रदानले द्विपक्षीय सम्बन्ध थप बलियो भएको उनले बताए ।

बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले नेपाली सेनाले संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसनमा प्रंसशनिय र उल्लेखनीय कार्य गरेर सबैको मन जित्न सफल भएकोे बताउदै दुई शताब्दी लामो मैत्री सम्बन्ध बलियो बन्नुमा सेनाको निकट सम्बन्धले पनि महत्त्वपूर्ण भूमिका निर्वाह गरेको स्पष्ट पारे ।

लण्डन दूतावासका सैन्य सहचारी कर्णेल अनुप शाहले नेपाली सेना देशमा मात्र नभएर संयुक्त राष्ट्रसङ्घीय शान्ति मिशनमार्फत विदेशमा पनि शान्ति कायम राख्न अहोरात्र खटिएको बताए ।

उनले देशको विकास निर्माण, प्राकृतिक विपत्ति, प्रकृति संरक्षण आदिमा नेपाली सेनाले सक्रियतापूर्वक काम गरिरहेको जानकारी दिदै नेपाली सेना हाल विश्वका १२ वटा शान्ति मिसनमा तैनाथ रहेको बताए । संयुक्त राष्ट्रसंघका ४४ वटा मिसनमा एक लाख ५० हजार ८९१ भन्दा बढी नेपाली सेना सहभागी भइसकेको सो अवसरमा जानकारी दिइएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्