बिर्तामोड, चैत १ ।पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ झापाले जिल्लाका दुईजना व्यवसायीलाई सम्मान गरेको छ।


महासंघको बिहीवार बिर्तामोडस्थित कार्यालयमा आयोजित सभाले विद्यार्थी बुक्स एण्ड स्टेशनरीका सञ्चालक रविन बराल र प्रगति बुक्स एण्ड स्टेशनरीका सञ्चालिका गोमा भट्टराईलाई दोसल्ला, फूलमाला र अबिरले सम्मान गरेको हो। सम्मानित दुवै बिर्तामोडका व्यवसायी हुन्।

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको हालै सम्पन्न सातौं केन्द्रीय महाधिवेशनबाट झापा बिर्तामोडका रविन बराल सहकोषाध्यक्ष पदमा भारी मतान्तरका साथ विजयी भएका थिए । यस्तै बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनमा गोमा भट्टराई जनसम्पर्क उपाध्यक्ष पदमा निर्वाचित भएकी थिइन् ।
निर्वाचित दुवैजनालाई बधाई तथा शुभकामना दिने उद्देश्यले आयोजना गरिएको सभामा उनीहरूलाई सम्मान गरिएको नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ झापाले जनाएको छ।

महासंघ झापाका अध्यक्ष बिनोद सापकोटा, सल्लाहकार समितिका संयोजक फडिन्द्रराज न्यौपाने, वरिष्ठ उपाध्यक्ष सुमन खनाल, उपाध्यक्ष खगेन्द्र गौतम, सचिव चन्द्रमणि घिमिरे, सहसचिव निर्मला यादव, कोषाध्यक्ष दीपक खतिवडा, प्रदेश सदस्य सुरेन्द्र दाहाल, झापा जिल्ला सल्लाहकार समितिका सदस्य राजकुमार दाहाललगायतले दुवै व्यवसायीलाई दोसल्ला, माला र अविर लगाइदिएर सम्मान गरेका थिए। सभाका वक्ता फडिन्द्रराज न्यौपानेले विजयी दुवै जनालाई आफ्नो ठाउँबाट पुस्तक तथा स्टेशनरी व्यवसायीका पक्षमा खुलेर काम गर्न सुझाए ।

यस्तै सम्मानित दुवै व्यवसायीले झापाली पुस्तक तथा स्टेशनरी व्यवसायीको मेहनत, प्रतिबद्धता र सहानुभूतिले आफूहरूले निर्वाचनमा विजय प्राप्त गरेको बताए । आफ्नो कार्यकालमा व्यवसायीलाई सक्षम, पारदर्शिता, इमान्दारिता र संगठनप्रति जिम्मेवारी बोध गराउने अभियानमा लागिपर्ने उनीहरुले बताए ।

सभामा निजी पुस्तकका प्रकाशक, अधिकृत बिक्रेता र बजार प्रतिनिधिले विद्यालय हातामा शैक्षिक सामग्रीहरू उपलब्ध गराएको घटनाप्रति महासंघले गम्भीर चासो व्यक्त गरेको छ।
कानुनमै उल्लेख भएको विद्यालय हातामा पाठ्य सामग्री, शैक्षिक सामग्री उपलब्ध नगराउने यसअघिको निर्णयलाई पुस्तक तथा स्टेशनरी विक्रेताले अटेर गरेको महासंघले ठहर गरेको छ। खुद्रा व्यवसायीको अहित हुने घटनाले महासंघ दुःखी भएको झापा अध्यक्ष बिनोद सापकोटाले बताए ।

पाठ्यपुस्तक, शैक्षिक सामग्री विद्यालय हाताबाटै बिक्री वितरण हुनेगरी गैरव्यवसायीलाई प्रदान नगर्न नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ झापाले पुस्तक तथा स्टेशनरीका अधिकृत बिक्रेतालाई अनुरोध गरेको छ ।

यस्तै कापी उद्योगलाई पनि गैरकानुनी ढङ्गबाट विद्यालय परिसरमा बिक्री वितरण हुनेगरी कापीको अवैध बिक्री नगर्न नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ झापाले सुझाएको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्