झापा, चैत १ । २४ औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपमा न्यु रोड टिम (एनआरटी) फाइनल प्रवेश गरेको छ।

धरान–१६ स्थित रंगशालामा बिहीबार सम्पन्न सेमिफाइनल खेलमा काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापालाई टाइब्रेकरमा ५–४ ले हराउँदै एनआरटी उपाधिनजिक पुगेको हो।

एनआरटीले फाइनलमा उपाधिको लागि मोरङको चुनौती सामना गर्नेछ। निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि सिधै टाईब्रेकर खेलाइएको थियो।

टाइब्रेकरमा एनआरटीका पाँचै जना खेलाडीहरु सरोज तामाङ, सनम लिम्बू, शिशिर लेखी, जय गुरुङ र मोहित गुरुङ गोल गर्न सफल भएका थिए। पहिलो नम्बरमा पेनाल्टी प्रहार गर्न आएका काँकडभिट्टाका विशाल घलान गोल गर्न असफल भएका थिए।उनको प्रहार एनआरटीका गोलकिप्पर प्रमिजय गच्छदारले रोकेका थिए। झापाका अन्य खेलाडी विमल घर्ती मगर, अभिषेक गुरुङ, दिवस उराव र देवेन्द्र तामाङले भने गोल गरेका थिए।
निर्धारित समयको खेलमा भने पहिलो हाफको ४३ औं मिनेटमा गोल गर्दै काँकडभिट्टाले अग्रता लिएको थियो। जीवन गुरुङको क्रसमा विदेशी खेलाडी फोडा फोपानेले हेड गरेका थिए। उनले हेडिङ गरेको बल एनआरटीका गोलकिप्पर पुजन होनाको हातमा ठोक्किँदै जाली चुमेको थियो।

काँकडभिट्टाको अग्रता भने धेरै लामो टिकेन। पहिलो हाफको इञ्जुरी समयमा सरोज तामाङले फ्रिकिकबाट बराबरी गोल गरे। करिब ३० यार्ड टाढाबाट उनको फ्रिकिक प्रहार सिधै गोल भएको थियो। खेलको म्यान अफ दि म्याच एनआरटीका सरोज तामाङ घोषित हुँदै नगद १० हजार, ट्रफी, टिसर्ट पुरस्कार हात पारे।

एनआरटीले शनिबार मोरङ फुटबल संघसँग फाइनल खेल्नेछ। दुवै टोलीले पहिलो पटक बुढासुब्बा गोल्डकपको फाइनल खेल्न लागेका हुन्।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्