झापा,चैत २ । नेकपा(एमाले)का सांसद भीमप्रसाद आचार्यले वैदेशिक रोजगारीमा जानेहरुलाई ६ महिने विषयगत तालिम दिनुपर्ने बताएका छन् । शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद आचार्यले वैदेशिक रोजगारीमा जान चाहानेलाई ६ महिने विषयगत तालिमको व्यवस्था गर्नुपर्ने बताएका हन् ।

त्यस्तो तालिम निःशुल्क रुपमा दिने व्यवस्था गर्नुपर्ने उनले बताए । उनले विदेश जाने प्रक्रियाका पासपोर्ट लिने, स्वास्थ्य जाँच गर्ने, रोजगार अनुमति प्राप्त गर्ने, आवश्यक तालिम दिने र अभिमुखीकरण प्रशिक्षण गर्ने लगायतका सबै काम जिल्लाबाटै हुने व्यवस्था गर्नुपर्ने बताए । उनले विदेश जान चर्को ब्याजमा ऋण लिने गरिएको भन्दै उनीहरुलाई सहुलियत दरमा जिल्लाबाटै बैंकमार्फत ऋण उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने बताए ।

‘‘वैदेशिक रोजगारमा जान चाहानेलाई सरकारले पासपोर्ट लिने, स्वास्थ्य जाँच गर्ने, रोजगार अनुमति प्राप्त गर्ने, आवश्यक तालिम दिने, अभिमुखीकरण प्रशिक्षण गर्ने, सबै काम जिल्लाबाटै हुने व्यवस्था गर्नुपर्दछ । तालिमप्राप्त कामदारहरुको आय दुई गुणा बढी हुन्छ । सङ्घीय सरकारले प्रत्येक पालिकामा वैदेशिक रोजगारमा जान चाहने कामदारहरुलाई निःशुल्क विषयगत तालिमहरुको व्यवस्था गर्नुपर्दछ ।,’’ सांसद आचार्यले भने, ‘‘६ महिने विषयगत तालिम नलिएका व्यक्तिहरुलाई वैदेशिक रोजगारीमा जान नपाउने व्यवस्था गर्नुपर्दछ । वैदेशिक रोजगारीमा जाने कामदारले साहुबाट महँगो ब्याजमा ऋण लिन्छ । कतिपय मिटरब्याजीको फेला पर्छ र आफ्नो घरबास, जमिन गुमाउँछ । वा आफुले कमाएको सबै पैसा तिर्दा पनि ऋणबाट मुक्त हुन सकेका छैनन् । यो अव्यवस्थालाई सरकारले अन्त्य गर्नुपर्दछ । यस्तो अव्यवस्थाको अन्त्य गर्न सरकारले त्यहाँ जान चाहाने देशभित्र कुनै विकल्प नभएका वैदेशिक रोजगारीमा जानैपर्ने बाध्यात्मक अवस्था भएका व्यक्तिहरुलाई सहुलियत दरमा जिल्लाबाटै कुनै बैंकमार्फत रकम उपलब्ध गराउनुपर्दछ । त्यसो हुँदा उनीहरु ठगिने सम्भावना कम हुन्छ ।’’

उनले विदेश जाने कामदारलाई स्वास्थ्य जाँचमा ठगिएको भन्दै यसतर्फ पनि सरकारको ध्यानाकर्षण गराए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्