झापा, चैत २ । रुसी सेनामा गैरकानुनी रुपमा भर्ती भएर युक्रेनसँगको युद्धमा मारिने थप ७ नेपालीमध्ये एकजना झापा हल्दिवारी १ का गंगाराम अधिकारी भएको खुलेको छ ।

फाइल फोटो

परराष्ट्र मन्त्रालयले हिजो विज्ञप्ति जारी गर्दै थप ७ जनाको मृत्यु भएको खबर सार्वजनिक गरेको थियो । साविक गोलधाप ५ हाल हल्दिवारी १ निवासी रघुनाथ अधिकारीका एकमात्र छोरा ३३ वर्षीय गंगाराम अधिकारीको युक्रेनसंगको युद्धमा मृत्यु भएको पुष्टि भएको प्रहरीले जनाएको छ । अधिकारी पाँच वर्षअघि कतार गएका थिए । त्यसपछि उनी दुबई गएका थिए । दुबईबाट गैरकानुनी रुपमा उनी करिव चार महिनाअघि रुसी सेनामा भर्ती भएका थिए । गत माघ ४ गते परिवारसंग अन्तिम पटक उनको सम्पर्क भएको पारिवारिक स्रोतले जनाएको छ ।

अधिकारीका घरमा श्रीमती अनुराधा अधिकारी र १५ र ५ वर्षका दुई छोरा रहेका छन् । दुबई गएका अधिकारी त्यहाँबाट रुसी सेनामा गएको कुरा परिवारलाई त्यति धेरै थाहा नभएको जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक मिलन केसीले बताए । उनले परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत झापाका गंगाराम अधिकारीको पनि मृत्यु भएको कुरा सार्वजनिक गरेपछि खोजी गर्नेक्रममा पुष्टि भएको जानकारी दिए । परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरेपछि अधिकारी परिवारलाई जानकारी गराएको हल्दिवारी १ का वडाध्यक्ष देवी थापाले बताए । रुसी सेनामा भर्ना भएपछि करिव एक महिना अगाडि गंगाराम युद्धका क्रममा घाइते भई हस्पिटल भर्ना भएका थिए । सोही घटनालाई लिएर उनको मृत्यु भएको कुरा पुष्टि भएको वडाध्यक्ष थापाले जानकारी दिए ।

रुसी सेनामा गैरकानुनी रुपमा भर्ती भएर युक्रेनसँगको युद्धमा झापाका गंगारामसहित थप ७ जना नेपालीको मृत्यु भएको पुष्टि भएको हो ।मृत्यु हुनेहरुमा झापाका गंगाराम अधिकारी, धादिङका पूर्णबहादुर गुरुङ, जाजरकोटका नवीन शाही, उदरयपुरका पदमबहादुर घिमिरे, बागलुङका जितबहादुर विक, बाँकेका सञ्जय केसी र रसुवाका सुन्दर मोक्तान रहेका छन् । सरकारले यसअघि रुसी सेनामा भर्ती भएका १४ जनाको मृत्यु भएको सूचना सार्वजनिक गरेको थियो ।

योसँगै रुसी सेनामा भर्ती भएर मर्ने नेपालीको संख्या २१ पुगेको छ । रुसी सेनामा भर्ती भएका नेपालीका परिवारजनले हालै थालेको पीडित परिवार तथा नागरिक जीवन रक्षाका लागि सचेतना अभियानले हालसम्म २ सय ७२ जना नेपाली लामो समयदेखि परिवारको सम्पर्कमा नआएको दाबी गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्