लक्ष्मी उप्रेती,

मेचीनगर, चैत २ । झापामा १५ देखि ६० वर्षसम्मका ब्यक्तिहरु लागूऔषधको कारोवारमा संलग्न देखिएको प्रहरीको तथ्यांकले देखाएको छ ।

नेपाल प्रवेशको पूर्वीद्वार काँकरभिट्टा र भारतको पश्चिम बंगाल राज्यको पानीट्यांकी (भारतीय सिमाना जोड्ने) लोकमार्ग पछिल्लो समय लागूऔषध ओसार पसार गर्ने सजिलो मार्ग बनेको छ । दैनिकजसो नेपाल प्रहरीले मेची पुलबाट यसमा संलग्नलाई धमाधम नियन्त्रणमा लिन थालेपछि यो मार्ग सजिलो र यी उमेर समूहका व्यक्तिहरुको संलग्नता देखिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाको अभिलेख अनुसार चालु आर्थिक वर्ष २०८०÷ ०८१ को फागुन महिनाको अन्त्यसम्म जिल्लामा लागूऔषधको कारोवारमा संलग्न २ सय ६५ जना मानिस पक्राउ परेका छन् । उमेर समूहको आधारमा सबैभन्दा बढी १६ देखि २५ वर्ष उमेरका १ सय २० जना मानिस पक्राउ परेका हुन् । १६ वर्ष मुनिका एकजना, २६ देखि ३५ वर्ष उमेर समूहका १ सय १ जना, ३६ देखि ४५ वर्ष उमेर समूहका ३१ जना, ४६ देखि ६० वर्ष उमेर समूहका १२ जना मानिस पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख, प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए ।

पक्राउ परेकामध्ये अधिकांश सेवनकर्ता रहेका छन् । जिल्ला प्रहरी कार्यालयको अभिलेख अनुसार पक्राउ परेका कुल २ सय ६५ मध्ये २ सय १ जना सेवनकर्ता र बाँकी कारोवारी हुन् । अनुसन्धानका क्रममा वास्तविकता जे आउँछ अपराध उद्धेश्यको आधारमा त्यही लेख्ने गरिएको कार्यालयको मुद्धा शाखाले जनाएको छ । लागूऔषध प्रयोगकर्ता र ओसार पसार गर्ने व्यक्ति पक्राउ पर्ने भएपनि यसमा संलग्न ठूला नाइके अहिलेसम्म पक्राउ पर्न नसकेको प्रहरी अधिकारीहरु बताउँछन् । राष्ट्रियताको आधारमा पक्राउ परेकामध्ये २ सय ५० जना नेपाली र १५ जना भारतीय रहेका छन् । चालु आर्थिक वर्षको पहिलो आठ महिनामा कार्यालयमा लागूऔषधका १ सय ७४ वटा मुद्धा दर्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय झापा, इलाका प्रहरी कार्यालय काँकरभिट्टा, लागूऔषध नियन्त्रण व्युरो शाखा झापालगायत थुप्रै सुरक्षाकर्मीहरुले मेची पुललाई आफ्नो निगरानीमा राख्ने गरेका छन् । सीमावर्ती भारतीय बजारबाट लागूऔषध सेवन गरी वा साथमा लिएर नेपाल प्रवेश गर्नेको संख्या बढी हुने भएकाले प्रहरीले यो ठाउँलाई उच्च निगरानीमा राखेको व्युरोका एकजना सुरक्षाकर्मीले बताए । ‘जिल्लामा जति पनि लागूऔषधमा संलग्न व्यक्ति पक्राउ पर्छन् अधिकांश मेची पुल क्षेत्रबाट १५ देखि ६० वर्ष उमेर समूहका व्यक्ति पक्राउ पर्ने गरेका छन्’ती सुरक्षाकर्मीले भने ।

झापा मेचीनगर नगरपालिका —६ पुरानो मेची पुलबाट लागूऔषध नियन्त्रण व्यूरो काँकरभिट्टाले गोप्य सूचनाका आधारमा दमक नगरपालिका —२ बस्ने ४५ वर्षीया करिमा तामाङ र सोहि ठाउँका ३३ वर्षका प्रकाश तामाङ (दुवैको नाम परिवर्तन) लाई १३ फागुनमा ९ ग्राम ५ सय मिलिग्राम ब्राउनसुगरको आशंकामा नियन्त्रणमा लिएको थियो । मोरङ मधुमल्ला तोरीवारी बस्ने २२ वर्षीया नाईरा भन्ने बसन्ती तामाङ (नाम परिवर्तन) लाई ११ ग्राम ५०० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको बताइएको छ ।

फागुन २१ गते बिर्तामोड नगरपालिका—६ बुट्टावारीस्थित एउटा घरमा लागूऔषध ब्राउनसुगरको कारोवार भईरहेको भन्ने गोप्य सूचनाका आधारमा अस्थायी प्रहरी चौकी बुट्टावारीबाट प्रहरी सहायक निरीक्षक सरोज थापा समेतको प्रहरी टोली खटिगई चेकजाँच गर्दा घरको कोठाभित्र इलाम सन्दकपुर गाउँपालिका —४ की २५ वर्षीया कबिता गुरुङ (नाम परिवर्तन) साथबाट ब्राउनसुगर ३ ग्राम ३१० मिलिग्रामसहित ६ हजार ९ सय रुपैयाँ प्रहरीले फेला पार्यो ।

‘यी घटनाले पनि लागूऔषधमा संलग्नहरुको उमेर समूह प्रष्ट हुन्छ’ व्युरोका एकजना अधिकारीले भने । ‘स–साना कलिला युवाहरु लागूऔषधसहित पक्राउ पर्ने क्रम बढ्दो छ ’उनले थपे । लागूऔषध सेवन र ओसार पसारमा युवाको संलग्नता बढी छ । नेपाल—भारत सीमा नाकाबाट लागूऔषध ओसार पसार तथा सेवनका लागि ल्याउने गरेको र यो नाकाबाट छिरेका लागूऔषध पूर्वी पहाडी जिल्लादेखि संघीय राजधानी काठमाडौ र अन्य ठाउँसम्म पुग्ने गरेको बताईएको छ । कतिपय आफै लागूऔषधको दुब्र्यसनमा लागेका हुन्छन् भने कतिपयले त देशका विभिन्न भागसम्म पुर्याउने काम गर्दै आएको अनुसन्धानका क्रममा खुलेको प्रहरीको भनाई छ । शुरु शुरुमा सुईको माध्यमबाट प्रयोग हुने डाइजिपाम, फेनारगन, लुपेजिशिक इन्जेक्सनलगायतका लागूऔषधको ओसार पसार प्रयोग हुने भएपनि पछिल्लो समय लागूऔषधका रुपमा प्रयोग हुने ब्राउनसुगर ,गाँजा, चरेस, चरेशजस्तो कालो पदार्थलगायतका वस्तुहरुको कारोवार हुन थालेको प्रहरीको अनुसन्धानबाट खुलेको एकजना प्रहरी अनुसन्धान अधिकृतले जानकारी दिए ।

भारतसँग खुल्ला सीमा जोडिएको झापाको मात्रै १ सय १८ दशमलव २ किलोमिटर पूर्वी र दक्षिणी सीमा क्षेत्र भारतकै विहार र पश्चिम बंगाल राज्यसँग जोडिएको छ । त्यस्तै मोरङ जिल्लाको ६३ किलोमिटर र सुनसरीको ६२ किलोमिटर सीमाक्षेत्र भारतसँग जोडिन्छ । यसले पनि लागूऔषध नियन्त्रणमा समस्या भएको झापा प्रहरीको भनाई छ । खुल्ला सीमाकै कारण प्रहरीको आँखा छलेर ओसार्नेको संख्या पनि उत्तिकै हुनसक्ने अनुमान गर्न सकिन्छ । जिल्ला प्रहरी कार्यालयले लागूऔषध दुव्र्यसनविरुद्धको सचेतना अभियान शुभारम्भ गरेको जिल्ला प्रहरी प्रमुख केसीले जानकारी दिए । २४ फागुनमा झापाको गौरीगञ्जबाट शुरु भएको यो अभियान जिल्लाभरि नै सञ्चालन गरिने प्रहरी उपरीक्षक केसीको भनाई छ ।

गौरीगञ्ज गाउँपालिका—६ स्थित खजुरगाछी माध्यमिकको विद्यालयको प्रांगणबाट शुभारम्भ भएको अभियानअन्तर्गत चैत ६ गते झापाको बिर्तामोड नगरपालिका —१ स्थित अतिथि सदनमा समुदाय—प्रहरी साझेदारी अवधारणा बमोजिम ‘लागूऔषध रोकथाम तथा नियन्त्रण कार्ययोजना २०८०’ लागूऔषध माग घटाउ कार्ययोजनाअन्तर्गत लागूऔषधसम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको प्रहरी उपरीक्षक केसीले जानकारी दिए । अभियान विभिन्न सरकारी कार्यालय तथा स्थानीय सरकारको सहकार्यमा सञ्चालन भइरहेको छ । गौरीगञ्जमा शुरु भएको अभियानमा गौरीगञ्ज गाउँपालिका , इलाका प्रशासन कार्यालय गौरीगञ्ज, इलाका प्रहरी कार्यालय गौरीगञ्ज, सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सशस्त्र प्रहरी गुल्म गौरीगञ्जको सहकार्य रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्