दिपक अधिकारी,
भद्रपुर ।भद्रपुर भन्सार कार्यालयले बिभिन्न बहाना बनाएर फेरि गैरकानूनी रुपमा रकम असुल्न थालेको छ ।

गत असोज महिनामा भद्रपुर भन्सारले गैरकानूनी रकम असुल्दै गरेको सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि आंशिक रुपमा गैरकानूनी रकम असुल्न बन्द भएको थियो । चैत १ गतेदेखि भन्सार एजेन्टमार्फत पुनः पुरानै शैलीमा गैरकानूनी रकम असुल्न शुरु गरेपछि भन्सार कार्यालयप्रति स्थानीयवासी आक्रोशित बनेका छन् ।

भारतीय सवारीसाधनले सुबिधाको रसिद लिँदा कानूनतः कुनै पनि शुल्क लाग्दैन । तर, भद्रपुर भन्सारका कर्मचारीले भने हल्का सवारीसाधन (कार, भ्यान, जीप)लाई दैनिक ५० र मोटरसाइकललाई दैनिक २० रुपैयाँ लिँदै आएका थिए । अहिले भन्सार एजेन्टले पनि पुरानै दररेटमा रकम असुल्दै छन् । जुन रकम सरकारी राजश्वमा जाँदैन । रकम लिएको कुनै बिल भर्पाइ पनि हुँदैन ।

नेपाल–भारतको सम्झौताअनुसार भारतीय सवारीसाधनलाई भन्सार कार्यालय रहेको ठाउँबाट नजिकको बजारसम्म पुगी सोही दिन सोही नाकाबाट फर्कने शर्तमा नेपाल प्रवेश गर्नको लागि दिइने ईजाजतपत्रलाई सुविधा भन्ने गरिन्छ । यस्तो ईजाजतपत्र (सुबिधा)लिँदा कुनै शुल्क लाग्दैन । भन्सारले दिने ईजाजतपत्रमा पनि कतै शुल्क उल्लेख हुँदैन ।

ईजाजतपत्र (सुबिधा)को पत्रमा सवारी धनीको नाम, सवारीको चेसिस नं., इन्जिन नं., गाडी नं.,सवारी चालकको नाम र चालकको लाइसेन्स नं. उल्लेख गर्नु पर्ने हुन्छ । तर, भन्सारले दिने ईजाजतपत्र (सुबिधा)को पत्रमा कुनैमा पनि पुरा विवरण लेखिएको हुँदैन । सवारीसाधन नै भन्सार कार्यालय लगेर मात्र सो ईजाजतपत्र दिनु पर्ने कानूनी प्रावधान भएपनि कर्मचारीको मिलेमतोमा (बढी रकम दिएर)अधिकांश सवारीसाधन भन्सार कार्यालय नलगी सुबिधाको ईजाजतपत्र दिने गरेको दैनिक सुबिधा लिने गरेका भद्रपुरका एक भारतीय सवारी चालक बताउँछन् ।

भद्रपुर भन्सार कार्यालयका प्रमुख अमित ढकालका अनुसार भद्रपुर भन्सारबाट १ सयको हाराहारीमा सुबिधा काटिने गरिएको छ । १ यस गाडीको प्रत्येकसँग ५० रुपैंयाँका दरले असुली गर्दा दैनिक ५ हजार हुन्छ । महिनामा १ लाख ५० हजार र वर्षको १८ लाख २५ हजार हुन्छ ।

कानूनतः सुबिधाको रसिद काट्ने अधिकार भन्सारको मात्र हो । एजेन्टलाई दिन मिल्दैन । सुबिधा काट्दा भन्सारका कर्मचारीबाट रकम असुल्दा बिरोध हुने भएकोले एजेन्टमार्फत गैरकानूनी रकम असुल्न लगाइएको हो । कार्यालय प्रमुख ढकालले प्रस्ट रुपमै भने–‘कार्यालयबाट रसिद काट्दा पैसाको लेनदेनमा कर्मचारी बद्नाम भए । त्यसैले एजेन्टलाई सुबिधाको रसिद काट्न दिइएको हो ।’

एजेन्टले आधिकारिक हस्ताक्षरबिना सुबिधाको रसिद काटिरहेका छन् । प्रेसबाट रसिद छपाएर ल्याएर भन्सारको छाप लगाएर भन्सार एजेन्टले आफ्नै कार्यालयबाट सुबिधाको रसिद दिँदै पठाउने गरेका छन् ।
गोप्य सुत्रका अनुसार भन्सारका कर्मचारीले उठेको रकमको ५० प्रतिशतमा एजेन्टलाई सुबिधाको रकम असुल्न लगाएका हुन् ।

सुबिधाको रसिद काट्न एजेन्टलाई दिइएको र ५० रुपैयाँको दरले गैरकानूनी रकम असुली गरिरहेको विषयमा भद्रपुर भन्सारका कार्यालय प्रमुख ढकालसँग जिज्ञासा राख्दा उनले भने–‘मुलुकैभरिको प्राक्टिस्मा आयात–निर्यातको फर्म भर्ने काम एजेन्टले गर्ने गरेकाले भद्रपुरमा पनि शुरु गरिएको हो । फर्म भर्ने कामसँगै सुबिधाको रसिद काट्न पनि एजेन्टलाई जिम्मा दिइएको हो । तर, रकम ५० रुपैयाँ लिएको मलाई जानकारी भएन । यदि सुबिधाको रकम लिने गरेको रहेछ भने तत्काल सुबिधाको रसिद काट्ने काम खोस्छु ।’

भद्रपुर भन्सारले सुबिधाको रसिद काट्न एजेन्टलाई दिएको र ५० रुपैयाँको दरले गैरकानूनी रकम असुल गरिरहेको विषयमा प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलासँग जिज्ञासा राख्दा आफूले बुझ्ने र यदि गैरकानूनी कार्य भएको रहेछ भने तत्काल त्यस्तो कार्य बन्द गराउने बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्