सरोज भट्टराई,
शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिका वडा नं. ७ का पौडेल दम्पत्तीले तरकारी खेतीबाट मनग्ये आम्दानी गरेका छन् ।

शिवसताक्षी ७ सिमलचौक निवासी डिल्लीप्रसाद पौडेल र उनी श्रीमती मीना पौडलले आफ्नै बारीमा लगाएको तरकारी खेतीबाट मनग्ये आम्दानी गरेका हुन् । पौडेलले १६ कठ्ठा क्षेत्रफलमा प्याप्सिकन, बन्दाकोपी, खर्बुजा बैगुनलगायतका तरकारीहरु लगाएका छन् । उनीहरु बिहानदेखि नै तरकारीको रेखदेख र गोडमेलमा ब्यस्त देखिन्छन् ।

पौडेल दम्पत्तीले दुई दशकदेखि व्यावसायिक रुपमा तरकारी खेती गर्दै आइरहेका छन् । पछिल्लो समय उनीहरुले प्याप्सिकन लगाएका हुन् । अन्य प्रजातिका तरकारीभन्दा प्याप्सिकन तरकारीले भाउ पाउने भएपछि यस वर्षदेखि प्याप्सिकन लगाएको डिल्लीप्रसाद पौडेलले बताए । उनको बारीमा अहिले बन्दाकोपी, खोर्सानी, बैगुन, खर्बुजालगायतका तरकारीहरु भेटिन्छन् । जसमा बन्दा र प्याप्सिकनले आम्दानी दिन सुरु गरेको छ । उनले १० कठ्ठामा प्याप्सिकन, ३ कठ्ठामा खर्बुजा र १ कठ्ठामा बैगुन लगाएका छन् । उनको बगानमा अंगुर, स्याउ, ड्रागन फुट्स र तेलका लागि सूर्यमुखीसमेत लगाइएको छ ।

शिवसताक्षी नगरपालिकाले कृषिमा अनुदान दिन थालेपछि तरकारी खेती गर्न केही सहज हुन थालेको डिल्लीप्रसाद पौडेल बताउँछन् । उनका अनुसार प्याप्सिकनमा बन्दा र करेलाको भन्दा डबलबढी आम्दानी देखिएको छ । उनी भन्छन् ‘१० कठ्ठा क्षेत्रफलमा लगाइएको प्यासिकनबाट खर्च कटाएर ६ लाख आम्दानी हुनेछ ।’ तरकारी खेतीमा बजारको समस्या नभई उत्पादनमै समस्या रहेको उनको भनाई छ । पौडेलले उत्पादन गरेको तरकारी शिवसताक्षीका व्यापारीले घरमै आएर लाने गरेका छन् । पौडेलले भने, ‘यहाँभन्दा दमक र बिर्तामोड पुर्याउन सके अझ बढी आम्दानी हुने गरेको छ । प्याप्सिकन सिजन सकिएपछि बैशाखतिर खर्बुजा पनि बिक्रीका लागि तयार हुन्छ ।’ उनका अनुसार अहिलेको सिजनमा तरकारी खेतीमा १ लाख २० हजार खर्च भएको छ । कृषि पेशामा मेहेनत गर्नसके युवाहरु विदेश गइरहनु नपर्ने उनको अनुभव छ ।

शिवसताक्षी नगरपालिकाबाट तरकारी खेतीका लागि मल, बीउविजन, मल्चिन सहयोग मिलेको छ । शिवसताक्षीका कृषि शाखा प्रमुख रविन भट्टराईले प्याप्सिकन खेतीबाट राम्रो आम्दानी हुने सुझाब दिएपछि प्याप्सिकन खेती सुरु गरिएको उनको भनाई छ ।

शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्कीले कृषिमा नगरपालिकाले गरेको लगानीको प्रतिफल राम्रो देखिएको बताइन् । उनले शिवसताक्षीका कृषकहरुले तरकारी खेती, तोरी खेती, कालो नुनिया धान खेती, युवा लक्षित कार्यक्रम अन्तर्गत नगरपालिकाले दिएको अनुदानबाट मौरीपालन गरेर मनग्ये आम्दानी गरेको अनुगमन क्रमममा भेटिएको जानकारी दिइन् । उनले भनिन् ‘हामी समय समयमा नगरभित्रका कृषकहरुको बारीमा जान्छौ । कृषि उत्पादनका लागि, मल, बीउ र बजारीकरणका समस्याहरुका बारेमा छलफल गरेर कृषकहरुबाट सुझाब समेत लिने गरेका छौं ।’

शिवसताक्षी नगरपालिकाका कृषकलाई तरकारी खेतीका लागि मल, बीउ र मल्चिन उपलब्ध गराइएको कृषि शाखा प्रमुख भट्टराईले जानकारी दिए । उनले ७ वटा कृषि फर्मलाई मह उत्पादन र २ वटा कृषि फर्मलाई तरकारी खेतीका लागि अनुदान दिइएको बताए । त्यस्तै नगरपालिकाले कालो नुनिया धान रोप्ने कृषकलाई प्रतिकठ्ठा ५०० सय रुपैयाँका दरले ४७ जना कृषकलाई प्रोत्साहन रकम उपलब्ध गराएको छ । तोरी खेतीका लागि पनि १० वटा कृषक समूहलाई प्रतिसमूह १ लाखका दरले अनुदान रकम उपलब्ध गराएको प्रमुख भट्टराईले जानकारी दिए । उनका अनुसार नगरपालिकाले किसानलाई बेमौसमी खेतीका लागि टनेलसमेत वितरण गर्दै आएको छ ।

कनकाई नहरबाट सिँचाई हुने भएकाले शिवसताक्षी नगरपालिकाका दक्षिणी क्षेत्रहरु तरकारी खेतीका लागि उपयुक्त मानिएको छ । शिवसताक्षीका ४, ५ ६ र ७ नम्बर वडाका अधिकांशले तरकारी खेती गर्ने गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्