झापा, चैत १० । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले जनताको अवस्था बदल्न व्यवस्था परिवर्तन गर्नुपर्ने बताएका छन् ।
झापाको बिर्तामोडमा आज आयोजित जनजागरण सभालाई सम्बोधन गर्दै राप्रपा अध्यक्ष लिङ्देनले जनतामा भएको निराशालाई आशामा बदल्नका लागि अहिलेको व्यवस्था परिवर्तन आवश्यक भएको बताए । शिक्षा, स्वास्थ्य र रोजगारबाट बञ्चित हुनुका साथै एउटा सामान्य जनता रोग पालेर बस्नु पर्ने अवस्थामा यो व्यवस्था रहेको हुनाले यसलाई बदल्नुको विकल्प नरहेको उनको भनाइ छ ।
राज्यले स्वास्थ्य निःशुल्क गर्नु पर्ने ठाउँमा एउटा गरिव परिवारको सदस्य विरामी भएर अस्पताल जाँदा जाति भएपछि फेरि विल हेरेर ढल्नु पर्ने अवस्था रहेको भन्दै लिङ्देनले अब देश बनाउने काममा राप्रपाले नेतृत्व गर्ने बताए।
‘मिटरव्याज, सहकारी ठगीलगायत वित्तीय समस्यामा परेका नागरिकहरुको समस्या समाधानका लागि छुट्टै वित्तीय समास्या समधान गर्न उच्चस्तरीय आयोग गठन गर्नु पर्छ,’ लिङ्देनले भने, ‘वित्तीय रुपमा बिभिन्न समस्यामा पर्नु भएका सबै नागरिकको अभिभावक अब राप्रपा हुनेछ ।’
बिर्तामोडस्थित सिटी सेन्टरमा आयोजित सभामा राप्रपाका उपाध्यक्षद्वय बुद्धिमान तामाङ, रबिन्द्र मिश्र, प्रबक्ता ज्ञानेन्द्र शाही, कोशी प्रदेश अध्यक्ष राम थापा, केन्द्रीय प्रशिक्षण बिभाग उपप्रमुख खुश्वु ओलीलगायतका नेताहरुले अब यो व्यवस्थालाई धेरै दिन पाल्न नसकिने भन्दै नेपालीको अवस्था बदल्नका लागि व्यवस्था बदल्नु पर्ने धारणा राखेका थिए ।
राप्रपाका नेताहरुले चैत २७ गतेदेखि काठमाण्डौ केन्द्रीत हुने आन्दोलनमा सहभागी हुन सबै झापाली जनतालाई अपिल समेत गरे । कार्यक्रम राप्रपा झापाका अध्यक्ष केशब ओझाको सभापतित्वमा भएको थियो ।