एजेन्सी । मस्कोमा शुक्रबार आयोजित सांगीतिक कार्यक्रममा सहभागी भएकाहरूमाथि हतियारधारीले अन्धाधुन्ध आक्रमण गर्दा कम्तीमा १ सय ३३ जनाको मृत्यु भएको छ ।
शनिबार साँझसम्मको रिपोर्टअनुसार घटनामा सख्त घाइते हुनेको संख्या १ सय ४० भन्दा बढी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
आक्रमणमा प्रत्यक्ष संलग्न चारसहित ११ जनालाई नियन्त्रणमा लिएको रुसको अनुसन्धान समिति (आईसीआर) ले जानकारी दिएको छ ।
कट्टरपन्थी समूह आईएसआईएससँग सम्बन्धित आईएसआईएस–केले सामाजिक सञ्जाल टेलिग्राममार्फत यो आक्रमणको जिम्मेवारी लिएको छ । यद्यपि, रुसी अधिकारीले घटनामा कसको संलग्नता थियो भन्ने अझै खुलाइसकेका छैनन् । इस्लामिक स्टेट खोरसान प्रान्त (आईएसआईएस–के) अफगानिस्तान तथा इरानमा सक्रिय समूह हो । यसअघि यो समूहले काबुलस्थित रुसी दूतावासमा पनि आक्रमणको प्रयास गरेको थियो ।
यस पटक भने राजधानी मस्कोको केन्द्र क्रेमलिनभन्दा २० किलोमिटरको दूरीमा रहेको क्रोकस सिटी हलमा ठूलो आक्रमण गरेको छ । ६ हजारभन्दा बढी व्यक्ति सहभागी हुन सक्ने क्षमताको क्रोकस सन् २००९ मा स्थापना गरिएको मस्कोको लोकप्रिय कन्सर्ट हलमा पर्छ ।