मेचीनगर ,चैत ११ । अन्तर्राष्ट्रिय क्षयरोग दिवसका अवसरमा आइतबार मेचीनगरमा विविध चेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।

मेचीनगर नगरपालिकाको स्वास्थ्य शाखाले मेचीनगर ६ काँकरभिट्टामा चेतनामुलक र्याली र अन्तरक्रिया गरी यो दिवस मनाएको स्वास्थ्य शाखा संयोजक सविता सापकोटा निरौलाले जानकारी दिइन्।

हरेक बर्षको मार्च २४ मा अन्तर्राष्ट्रिय क्षयरोग दिवस मनाइन्छ । सन् १८८२ मार्च २४ मा डाक्टर रोर्वट कोचले क्षयरोगका किटाणु पत्ता लगाएको दिनको स्मरणमा हरेक वर्ष मार्च २४ का दिन यो दिवस मनाउन थालिएको हो । ‘क्षयरोग बिनाको विश्वका लागि नेतृत्वको खोजी’ भन्ने अर्थका साथ यस बर्ष विश्व समुदायले मार्च २४ तारिखमा क्षयरोग दिवस मनाएको छ । अन्तर्राष्ट्रिय क्षयरोग दिवसको यस वर्षको नारा ‘हो हामी क्षयरोग अन्त्य गछौँ !’ भन्ने रहेको थियो ।

काँकरभिट्टा स्वास्थ्य चौकीबाट विहान विभिन्न चेतनामुलक नारा लेखिएका प्लेकार्ड र व्यानर बोकेर स्वास्थ्यकर्मी र सर्वसाधारणसहितको र्यालीले काँकरभिट्टा बजारको मुख्यः भाग परिक्रमा गर्दै नेपाल भारत सीमाक्षेत्रमा पुगेर पुनः स्वास्थ्य चौकीमा आएर अन्तरक्रियामा परिणत भएको थियो । नगरका क्षयरोगी तथा आफन्त र सर्वसाधारणसहितको उपस्थितिमा भएको अन्तरक्रियामा स्वास्थ्य शाखा संयोजक निरौलाले क्षयरोग, यसका लक्षण, बच्ने उपाय र उपचारका बारेमा जानकारी दिएकी थिइन् । आर्थिक वर्ष २०७८÷०७९ को बजेट बक्तव्यको बुँदा नम्बर ३ मा आगामी ५ वर्षभित्र मेचीनगर नगरपालिकालाई क्षयरोग मुक्त घोषणा गर्ने उल्लेख भएकाले अहिले सोही अनुसार काम भईरहेको उनले बताइन् ।

आगामी आर्थिक वर्ष २०८२÷०८३ मा मेचीनगरलाई क्षयरोगमुक्त नगर घोषणा गर्न क्षयरोगका विरामीहरु खोज्ने अभियान तीव्र पारेको उनले बताइन् । अन्य गैरसरकारी संघ संस्थाहरुसँग मिलेर संयुक्तरुपमा सचेतना अभियान सञ्चालन गर्ने, नगरको स्वास्थ्य शाखाको प्राविधिकहरुले क्षयरोगी खोजी अभियानलाई तीब्र पारेको, क्षयरोगका बिरामीको परीक्षणदेखि उपचारसम्म सरकारले निःशुल्क गर्ने व्यवस्था गरेअनुसार मेचीनगरका क्षयरोगीहरुका लागि छातीको एक्सरेसमेत नगरपालिकाले निःशुल्क गर्ने व्यवस्था मिलाएको उनले बताइन् । तौल घट्नु , छाती दुख्नु, राति राति ज्वरो आउनु, खकारमा रगत देखिनु, श्वासप्रश्वासमा समस्या हुनु, दुई हप्तासम्म लगातार खोकी लागिरहनुलगायत क्षयरोगका लक्षण भएको शाखा संयोजक निरौलाले बताइन् ।

क्षयरोग एक प्रकारको सरुवा रोग हो । सामान्यतया टिबी भनिने यस रोगको पूर्ण रुप चाहिँ ट्यूब्रक्लोसीस हो । यो एक प्रकारको कीटाणुको कारणले गराउँदछ । नेपालमा हुने क्षयरोगमध्ये ७५ प्रतिशत फोक्सोको क्षयरोग हुने गरेको छ । झापा जिल्लामा २ हजार ५ सयभन्दा बढी मानिस क्षयरोगको सक्रिय संक्रमित भएको अनुमान गरिएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । काँकरभिट्टा स्वास्थ्य चौकी प्रमुख लेखनाथ खतिवडाले सञ्चालन गरेको कार्यक्रममा मेचीनगर नगरपालिका वडा नम्बर —६ का वडाध्यक्ष ललितबहादुर तामाङले खासगरी शुरुमा क्षयरोगको लक्षण देखिनेबित्तिकै उपचारका लागि रोगी नआउनु नै सबैभन्दा ठुलो चुनौती रहेको बताए । ‘अहिले पनि क्षयरोगीहरु खुलेर उपचारका लागि नआउने, लुकेर बस्ने भएकाले गर्दा पनि क्षयरोग मुक्त गर्न समस्या भएको छ’ उनले भने ।

‘क्षयरोग अहिले जनस्तरमा निकै जटिल समस्याका रुपमा देखिएको छ’ काँकरभिट्टा स्वास्थ्य चौकी प्रमुख लेखनाथ खतिवडाले भने,‘यो धेरै पुरानो रोग भएपनि अझै नियन्त्रण गर्न सकिएको छैन नियन्त्रण बाहिर छ । ’ अहिले पनि समाजमा निकै क्षयरोगी छन् । उनीहरु खुलेर उपचारका लागि आउने गरेका छैनन् ।

अहिले नगरपालिकाले क्षयरोगका बिरामीहरुलाई पोषणयुक्त खाद्य सामग्री वितरण र क्षयरोगसम्बन्धी विभिन्न संघ संस्था र समूहहरुसँग समीक्षालगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ । नेपाल सरकारले सन् २०३५ सम्म क्षयरोग निर्मुल पारी क्षयरोगबाट हुने मृत्युमा ९५ प्रतिशतले कमि ल्याउने योजनालाई साकार बनाउन विश्व क्षयरोग दिवस २०८० नेपालमा देशव्यापी जागरण ल्याउने र चेतना फैलाउने उद्धेश्यका साथ मनाउन सम्बन्धित निकायलाई निर्देशन दिएको थियो । सन् २०५० सम्ममा क्षयरोगलाई पूर्ण रुपमा निवारण गर्ने योजनाअन्तर्गत नेपाल सरकारले २०५९ देखि २०६९ सालसम्म दशबर्षे दीर्घकालिन योजना अघि सारेको थियो । विसं २०२१ सालमा नेपाल सरकार, विश्व स्वास्थ्य संगठन र युनिसेफबीच क्षयरोग नियन्त्रणका लागि त्रिपक्षीय सम्झौता भएको थियो । तर, यी अभियान खासै प्रभावकारी बनेका छैनन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्